वीरगंज (पर्सा), ११ असोज । वीरगंज महानगरपालिकाले सार्वजनिक स्थान तथा विद्युत्का खम्बामा अनुमति नलिई राखिएका होर्डिङ बोर्ड, ब्यानर र विभिन्न प्रचार सामग्री हटाउने अभियान सुरु गरेको छ । सार्वजनिक सम्पत्तिको संरक्षणसँगै सडक तथा विद्युत् संरचनालाई व्यवस्थित र सहरको सौन्दर्य कायम गर्ने उद्देश्यले महानगरपालिकाले अनधिकृत प्रचार सामग्री हटाउन थालेको हो ।
अभियानअन्तर्गत मुख्य सडक, चोक तथा विद्युत्का खम्बामा जथाभावी राखिएका निजी क्लिनिक, चिकित्सक तथा विभिन्न व्यवसायका विज्ञापन सामग्री हटाउन थालिएको छ । महानगरपालिकाका हरियाली संयोजक प्रकाश खेतानका अनुसार अनुमति नलिई सार्वजनिक पोल तथा स्थानमा राखिएका विज्ञापन सामग्री हटाउने काम सुरु गरिएको हो । उनले सार्वजनिक स्थानमा कुनै पनि विज्ञापन सामग्री राख्नुअघि महानगरपालिकाबाट आवश्यक अनुमति लिन सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरे ।
महानगरपालिकाले वीरगञ्जका प्रमुख सडक तथा चोकमा अनधिकृत रूपमा राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । संयोजक खेतानले सार्वजनिक सम्पत्तिको प्रयोग गरेर सहरको सौन्दर्य बिगार्ने र नियमविपरीत विज्ञापन राख्ने कार्यलाई निरन्तरता दिन नदिइने बताए । उनले भने, ‘महानगरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने दायित्व हामी सबैको हो । सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर सहरी सौन्दर्य बिगार्ने र अनुमतिविना विज्ञापन राख्ने छुट कसैलाई छैन ।’ महानगरपालिकाले अनुमति नलिई सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, ब्यानर वा अन्य प्रचार सामग्री नराख्न सम्बन्धित व्यक्ति तथा संस्थालाई पुनः आग्रह गरेको छ ।
यसैबीच, वीरगंजको मुख्य सडकलाई व्यवस्थित बनाउने काम पनि अघि बढिरहेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले आगामी दसैँअघि मुख्य सडकलाई सफा र व्यवस्थित बनाउने योजनाअनुसार त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरीपुलसम्म सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र विस्तार गर्ने क्रममा घर तथा संरचना हटाउने काम सम्पन्न गरेको छ । मुख्य सडक विस्तार र अनधिकृत प्रचार सामग्री हटाउने अभियान एकैसाथ अघि बढेपछि वीरगंजको सडक क्षेत्रलाई थप व्यवस्थित बनाउने प्रयासले गति लिएको छ ।










प्रतिक्रिया दिनुहोस् !