पोखरिया (पर्सा), ११ असोज । पर्साको धोबीनी गाउँपालिका–४ लंगडीमा करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको नमुना अस्पताल स्थानीयका लागि स्वास्थ्य सेवाको भरोसा बन्नुपर्ने हो । तर अस्पतालसम्म पुग्ने सडकको दुरवस्थाले यही स्वास्थ्य संस्था अहिले स्थानीयका लागि सहज उपचारभन्दा पनि पहुँचको समस्याको उदाहरण बन्न थालेको छ । वर्षायाम सुरु भएसँगै लंगडीको सडक हिलाम्मे र जीर्ण बनेपछि अस्पतालसम्म बिरामी पुर्याउन स्थानीयलाई सास्ती हुने गरेको छ ।
सामान्य बिरामीदेखि गर्भवती महिला, वृद्धवृद्धा र आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई समयमै अस्पताल पुर्याउन कठिन हुने गरेको स्थानीयको गुनासो छ । अस्पताल गाउँमै भए पनि सडककै कारण कतिपय बिरामीलाई पोखरिया वा वीरगन्जका स्वास्थ्य संस्थातर्फ लैजानुपर्ने अवस्था आउने गरेको स्थानीय बताउँछन् । अझ वर्षाको समयमा एम्बुलेन्ससमेत सहज रूपमा आवतजावत गर्न नसक्दा आपत्कालीन अवस्थामा बिरामीको स्वास्थ्य जोखिममा पर्न सक्ने उनीहरूको भनाइ छ ।
स्थानीयको प्रश्न छ ‘स्वास्थ्य संस्था निर्माणका लागि करोडौं रुपैयाँ खर्च गर्न सक्ने गाउँपालिकालाई त्यही अस्पतालसम्म पुग्ने सडक व्यवस्थित गर्न किन कठिन भइरहेको छ ?’ स्थानीयका अनुसार अस्पतालको भवन निर्माणलाई मात्र विकासको सूचक मानेर पुग्दैन । सेवा लिन आउने नागरिकले सहज रूपमा अस्पतालसम्म पुग्न सक्ने अवस्था सिर्जना गर्नु पनि स्वास्थ्य पूर्वाधारकै महत्वपूर्ण हिस्सा हो । पहुँच मार्ग नै जोखिमपूर्ण भएपछि करोडौंको लगानीबाट निर्माण भएको अस्पतालको पूर्ण उपयोग हुन नसकेको उनीहरूको गुनासो छ ।
गाउँपालिकाले विभिन्न तालिम, गोष्ठी, कार्यक्रम तथा सामग्री खरिदमा बजेट खर्च गर्दै आए पनि जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडकजस्ता आधारभूत पूर्वाधारमा अपेक्षित प्राथमिकता नदिएको भन्दै स्थानीय तहको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ ।स्थानीयले जनप्रतिनिधिहरूले आगामी योजना तथा बजेट निर्माण गर्दा जनताको वास्तविक आवश्यकता पहिचान गर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार औपचारिक कार्यक्रम र तालिमभन्दा बिरामीलाई सुरक्षित रूपमा अस्पताल पुर्याउने सडक, खानेपानी, शिक्षा तथा अन्य आधारभूत पूर्वाधारमा लगानीलाई प्राथमिकता दिन आवश्यक छ ।
‘अस्पतालको भवन बनेको छ, तर त्यहाँ पुग्ने बाटो व्यवस्थित छैन ।’ स्थानीयका दृष्टिमा यही विरोधाभासले विकास योजनाको प्राथमिकता र व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ । करोडौं लगानीमा स्वास्थ्य संस्था निर्माण गरिए पनि त्यसको पहुँच मार्ग बेवास्ता गरिँदा राज्यको लगानीको अपेक्षित प्रतिफल नागरिकले पाउन नसकेको उनीहरूको आरोप छ । अब स्थानीयले आश्वासन र भाषणभन्दा अस्पतालसम्म पुग्ने सडकको तत्काल स्तरोन्नति गर्न माग गरेका छन् ।
वर्षायाममा नियमित मर्मत, सडकको दिगो सुधार तथा एम्बुलेन्स सहज रूपमा सञ्चालन हुन सक्ने पहुँच मार्ग निर्माणलाई प्राथमिकतामा राख्न उनीहरूले धोबीनी गाउँपालिका र सम्बन्धित जनप्रतिनिधिसँग आग्रह गरेका छन् । जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अस्पतालसम्मको सडक आगामी बजेटमा प्राथमिकतामा पर्छ कि फेरि अन्य कार्यक्रम र खरिदमै बजेट केन्द्रित हुन्छ भन्ने प्रश्न अहिले लंगडीका स्थानीयबीच चर्चाको विषय बनेको छ ।










प्रतिक्रिया दिनुहोस् !