वीरगंज (पर्सा), ९ असोज । वीरगंज स्थित नेशनल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालले आवासीय चिकित्सकहरूलाई छात्रावास खाली गर्न दिएको निर्देशन तत्कालका लागि स्थगित गरेको छ ।
कलेज प्रशासनले जारी गरेको अत्यन्त जरुरी सूचना अनुसार, यसअघि प्रधानाचार्य कार्यालयबाट प्रथम वर्षका स्नातकोत्तर (पि.जी.) आवासीय चिकित्सकहरूलाई १२ घण्टाभित्र कलेजले उपलब्ध गराएको छात्रावास, क्वार्टर तथा अन्य आवासीय सुविधाहरू खाली गर्न निर्देशन दिइएको थियो । तर, जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको प्रतिकुल मौसम, भारी वर्षा तथा बाढीको जोखिमसम्बन्धी सतर्कता सूचनालाई मध्यनजर गर्दै चिकित्सकहरूको सुरक्षाका लागि उक्त १२ घण्टाको समयसीमा हाललाई स्थगित गरिएको कलेज प्रशासनले जनाएको छ ।
मौसम र अवस्था सामान्य भएपछि छात्रावास तथा कलेज परिसर खाली गर्ने नयाँ समयसीमा थप सूचनामार्फत जानकारी गराइने विज्ञप्तिमा उल्लेख छ । साथै, कलेज प्रशासनले यस अवधिमा सम्पूर्ण आवासीय चिकित्सकहरूलाई आवश्यक सतर्कता अपनाउन र जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायहरूबाट जारी हुने सुरक्षा निर्देशनहरूको पालना गर्न अनुरोध समेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस् !