वीरगंज (पर्सा), ९ असोज । वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज बनाउने उद्देश्यले सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ । अब मालपोत कर बुझाउन महानगरपालिकाको मुख्य कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ असोज १२ गतेदेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर संकलन गरिनेछ । नयाँ व्यवस्थाले करदातालाई आफ्नो घरनजिकै रहेको वडा कार्यालयबाटै मालपोत कर बुझाउने सुविधा उपलब्ध गराउनेछ ।
नगरवासीलाई घरदैलोमै सहज, सरल र प्रभावकारी सेवा पुर्याउने महानगरपालिकाको नीतिअनुसार वडा कार्यालयबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको हो । यसबाट कर बुझाउन महानगर कार्यालयसम्म आउजाउ गर्दा लाग्ने समय, खर्च र झन्झट घट्ने अपेक्षा गरिएको छ ।
महानगर प्रमुख राजेशमान सिंहले नगरवासीलाई सामान्य सेवा लिनसमेत अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले वडा तहबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको बताए । उनका अनुसार महानगरपालिकाबाट उपलब्ध हुने सेवाहरूलाई सकेसम्म नागरिकको घरदैलो नजिक पुर्याउने र सेवा लिन लाग्ने समय तथा खर्च बचत गराउने नीति महानगरपालिकाले अघि बढाइरहेको छ ।
नयाँ व्यवस्थाअनुसार अब नगरवासीले आफ्नै वडा कार्यालयमा पुगेर मालपोत कर तिर्न सक्नेछन् । कर संकलनका लागि आवश्यक जनशक्ति, प्रणाली तथा अन्य व्यवस्थापन मिलाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सबै वडा कार्यालयलाई निर्देशन दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गर्नुभएको सूचनामार्फत नगरवासीलाई समेत अबदेखि सम्बन्धित वडा कार्यालयमै पुगेर मालपोत कर बुझाउन आग्रह गरिएको छ ।
यस व्यवस्थासँगै महानगरपालिकाले कर संकलनलाई नागरिकमैत्री बनाउनुका साथै ‘सेवा लिन कार्यालय होइन, कार्यालयबाटै नागरिकको नजिक सेवा’ पुर्याउने अवधारणालाई कार्यान्वयनमा अघि बढाएको छ ।









प्रतिक्रिया दिनुहोस् !