वीरगंज (पर्सा), ८ असोज । मधेश प्रदेशमा सञ्चालन भइरहेका अनलाइन सञ्चारमाध्यमलाई १५ दिनभित्र सूचीकृत हुन मिडिया काउन्सिल, मधेश प्रदेशले आह्वान गरेको छ । अनलाइन न्यूज पोर्टलको संख्या बढ्दै जाँदा सञ्चार सामग्रीसम्बन्धी उजुरीसमेत बढ्न थालेपछि काउन्सिलले सूचीकृत गर्ने प्रक्रिया अघि बढाएको हो । काउन्सिलले बिहीबार सूचना जारी गर्दै मधेश प्रदेश तथा प्रदेशअन्तर्गतका विभिन्न जिल्लाबाट सञ्चालित अनलाइन सञ्चारमाध्यमलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गरी सूचीकृत हुन आग्रह गरेको छ ।
काउन्सिलका अनुसार मधेश प्रदेशस्थित आमसञ्चार प्राधिकरणमा दर्ता प्रक्रिया पूरा गरेका तथा नेपाल सरकारअन्तर्गतका सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका अनलाइन न्यूज पोर्टलहरू सूचीकृत हुनुपर्नेछन् । तर, यसअघि नै मधेश प्रदेशस्थित आमसञ्चार प्राधिकरणमा दर्ता भई मिडिया काउन्सिल, मधेश प्रदेशमा सूचीकृत भइसकेका अनलाइन सञ्चारमाध्यमले भने पुनः सूचीकृत हुनुपर्ने छैन ।
मिडिया काउन्सिल, मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना कुमारी झाका अनुसार पछिल्लो समय केही अनलाइन सञ्चारमाध्यमबाट प्रकाशित तथा प्रसारित सामग्रीका विषयमा काउन्सिलमा उजुरी आउने क्रम बढेको छ । यही अवस्थालाई मध्यनजर गर्दै अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित, मर्यादित तथा अभिलेखबद्ध गर्ने उद्देश्यले सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएको हो ।
‘अनलाइन सञ्चार माध्यमको संख्या बढ्दै गएको अवस्थामा सञ्चार सामग्रीका सम्बन्धमा काउन्सिलमा उजुरीसमेत आउने क्रम बढेको छ । त्यसैले अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउँदै पत्रकार आचारसंहिताको पालनालाई प्रभावकारी बनाउन सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएको हो,’ अध्यक्ष झाले बताइन् । यससँगै काउन्सिलले मधेश प्रदेशका आठवटै जिल्लामा सञ्चालित अनलाइन सञ्चारमाध्यमको अनुगमनलाई थप प्रभावकारी बनाउने तयारीसमेत गरेको छ ।
प्रत्येक जिल्लामा अनुगमन समिति गठन गर्ने सम्बन्धी कार्यविधि अन्तिम चरणमा पुगेको अध्यक्ष झाले जानकारी दिइन् । जिल्लास्तरमा अनुगमन समिति गठन भएपछि सञ्चारमाध्यमबाट प्रकाशित सामग्रीको नियमित अनुगमन, पत्रकार आचारसंहिताको पालनाको अवस्थाको पहिचान तथा सञ्चार सामग्रीसँग सम्बन्धित समस्या र गुनासोको सम्बोधनलाई थप व्यवस्थित बनाउने काउन्सिलको योजना छ । त्यसका साथै सञ्चारमाध्यम, सम्बन्धित निकाय तथा सरोकारवालाबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसमेत समितिको रहने काउन्सिलले जनाएको छ ।
काउन्सिलले मधेश प्रदेशमा सञ्चालनमा रहेका सबै सम्बन्धित अनलाइन सञ्चारमाध्यमलाई तोकिएको १५ दिनको समयसीमाभित्र आवश्यक कागजातसहित सूचीकृत हुन आग्रह गरेको छ । काउन्सिलले जिम्मेवार, मर्यादित र व्यावसायिक पत्रकारिताको प्रवद्र्धनका लागि अनलाइन सञ्चारमाध्यमलाई सूचीकृत प्रक्रियामा सहभागी हुनसमेत आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस् !