वीरगंज (पर्सा), ६ असोज। खेतीको मुख्य सिजनमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने विगतको समस्या दोहोरिन नदिन सरकारले अहिलेबाटै तयारी थालेको जनाएको छ । आगामी वर्ष किसानलाई आवश्यक पर्ने मल समयमै उपलब्ध गराउने उद्देश्यसहित कृषि, वन तथा पर्यावरण मन्त्रालयले खरिद प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयका अनुसार मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चितता प्राप्त भइसकेको छ । बजेटको सुनिश्चितता भएपछि आवश्यक परिमाणमा रासायनिक मल खरिदका लागि अब छिट्टै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
मुख्य खेती सिजन सुरु भएपछि मलको खोजीमा किसानले लामो समय लाइन बस्नुपर्ने, अभाव झेल्नुपर्ने तथा महँगो मूल्यमा मल किन्नुपर्ने अवस्था विगतमा देखिँदै आएको थियो । यसपटक भने त्यस्तो अवस्था आउन नदिन खरिद प्रक्रिया समयमै अघि बढाउन लागिएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले किसानको आवश्यकतालाई ध्यानमा राख्दै मल खरिद तथा आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ । स्रोत सुनिश्चितता भइसकेकाले अब खरिद प्रक्रियालाई तीव्रता दिई आवश्यक मल समयमै ल्याउने तयारी गरिएको मन्त्रालयको दाबी छ । सरकारले खेती सिजन सुरु हुनुअघि नै मलको पर्याप्त मौज्दात सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
विगतमा सिजन सुरु भएपछि मात्र मल व्यवस्थापनमा तदारुकता देखाउँदा किसानले अभाव र अनिश्चितता भोग्नुपरेको भन्दै यसपटक पूर्वतयारीमै जोड दिइएको मन्त्रालयको भनाइ छ । अब १० अर्ब रुपैयाँको स्रोतबाट कति परिमाणमा रासायनिक मल खरिद हुन्छ, खरिद प्रक्रिया कति छिटो सम्पन्न हुन्छ र किसानको खेतसम्म समयमै मल पुग्छ कि पुग्दैन भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुनेछ ।







प्रतिक्रिया दिनुहोस् !