वीरगंज (पर्सा), ५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारी रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारको पीडा बुझ्न उनीहरूको घरदैलोमा पुगेका छन् । बारा क्षेत्र नम्बर ४ का सांसद अन्सारीले सोमबार बिहान परवानीपुर गाउँपालिका–१ रहरियाका २४ वर्षीय निरज कुशवाहाको परिवारसँग भेट गरी बाढीपछि उत्पन्न परिस्थितिबारे जानकारी लिएका हुन् ।
निरज कुशवाहा रसुवामा बाढी आएको समयमा गाडीको सहचालकका रूपमा कार्यरत थिए । बाढीपछि उनी बेपत्ता छन् । सांसद अन्सारीले निरजका परिवारसँग भेट गर्दै विपत्तिको यस कठिन घडीमा आफू र राज्य पीडित परिवारको साथमा रहेको बताए । अन्सारीका अनुसार सरकारी तथ्यांकमा रसुवाको बाढीपछि अझै ५ हजार १३० जना बेपत्ता रहेको उल्लेख छ । तीमध्ये आफ्नो गृहजिल्ला तथा निर्वाचन क्षेत्रबाट रसुवा पुगेका र बेपत्ता भएका व्यक्तिहरूको विवरणसमेत सम्बन्धित सरकारी निकायमा रहेको उनले बताए ।
बाढीमा आफन्त बेपत्ता भएपछि शोक र अनिश्चितताको अवस्थामा रहेका परिवारसँग प्रत्यक्ष भेट गर्न आफू निर्वाचन क्षेत्रमा आएको अन्सारीले बताए । उनले पीडित परिवारलाई आवश्यक सहयोग र साथ उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । रसुवाको बाढीमा परवानीपुर गाउँपालिकाबाट मात्रै चार जना बेपत्ता भएको बताइएको छ । बेपत्ता व्यक्तिको अवस्था अझै स्पष्ट हुन नसक्दा उनीहरूका परिवार लामो समयदेखि चिन्ता र पीडामा छन् ।
यसअघि सांसद अन्सारीले आइतबार परवानीपुर गाउँपालिका–५ निवासी नमोनारायण सिंहको परिवारसँग पनि भेट गरेका थिए । उनले बाढीबाट प्रभावित तथा बेपत्ता परिवारका सदस्यसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिइरहेका छन् ।
बाढीमा बेपत्ता भएका आफ्ना नागरिकको खोजी, प्रभावित परिवारलाई राहत तथा राज्यबाट आवश्यक सहयोग सुनिश्चित गर्नुपर्ने विषयमा अन्सारीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।







प्रतिक्रिया दिनुहोस् !