वीरगंज (पर्सा), ५ असोज । पर्साको धोबिनी गाउँपालिका–५, धोबिनीमा ५५ वर्षीया महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । स्थानीय श्रीनिवास तुराहाकी श्रीमती लखराव देवी सोमबार बिहान घरको दोस्रो तल्लामा मृत भेटिएकी हुन् । स्थानीयका अनुसार आइतबार राति श्रीनिवास र उनकी श्रीमती तीनतल्ले पक्की घरको छुट्टाछुट्टै तल्लामा सुतेका थिए ।
श्रीनिवास पहिलो तल्लामा र लखराव देवी दोस्रो तल्लामा सुतेकी थिइन् । सोही रात अज्ञात समूहले छिमेकीको घरतर्फबाट झ्याल तोडेर दोस्रो तल्लामा प्रवेश गरेको र घरभित्र रहेको दराज फोडी गरगहना चोरी गरेर लगेको स्थानीयको दाबी छ । सोमबार बिहान नियमित पूजाका लागि श्रीमती नआएपछि श्रीनिवास उनलाई खोज्दै माथिल्लो तल्लामा पुगेका थिए । त्यहाँ लखराव देवीलाई मृत अवस्थामा भेटेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लंगडी, इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको छ । घरमा चोरीसमेत भएको र लाखौँ रुपैयाँ मूल्यका गरगहना लुटिएको स्थानीयले बताएका छन् । यद्यपि, प्रहरीले चोरी भएको पुष्टि हुने विवरण अहिलेसम्म प्राप्त नभएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले धोबिनीस्थित एक घरमा ५५ वर्षीया महिला मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको जानकारी दिए । उनका अनुसार घरको झ्याल र दराज तोडिएको जानकारी प्राप्त भए पनि चोरी भएको सामान तथा त्यसको मूल्यसम्बन्धी यकिन विवरण अहिलेसम्म प्राप्त भएको छैन । मृतक लखराव देवीका दुई छोरा र दुई छोरी छन् ।
स्थानीयका अनुसार उनका दुवै छोरा व्यवसायको सिलसिलामा काठमाडौंमा बस्दै आएका छन् । घरभित्रै महिलाको रहस्यमय मृत्यु र चोरीको आशंकाले धोबिनी गाउँमा त्रास फैलिएको छ । घटनाको वास्तविक कारण, मृत्युको प्रकृति र चोरीमा संलग्न व्यक्तिको पहिचानबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !