वीरगंज (पर्सा), ५ असोज । निर्माण सम्पन्न भएर उद्घाटन भएको डेढ वर्षपछि पर्साको पटेर्वा सुगौली गाउँपालिका–२, रंगपुरस्थित आधुनिक कृषि बजार सञ्चालनमा आएको छ । किसानका उत्पादनको संकलन, बिक्री–वितरण तथा भण्डारणलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको कृषि बजार सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पटेर्वा सुगौली गाउँपालिकाको संयुक्त लगानीमा १ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त कृषि बजारको २०८१ फागुन ६ गते औपचारिक उद्घाटन गरिएको थियो । तर, निर्माण सम्पन्न भएर उद्घाटन भएको लामो समयसम्म पनि आवश्यक काम पूरा नहुँदा बजार सञ्चालनमा आउन सकेको थिएन ।
वडाध्यक्ष विजय गैरेका अनुसार केही अधुरा काम सम्पन्न गरिएपछि सोमबारदेखि नवनिर्मित संरचनामै कृषि बजार सञ्चालनमा ल्याइएको हो । बजार सञ्चालनको पहिलो दिन साना–ठूला गरी तरकारीका १२० वटा पसल थापिएको उनले जानकारी दिए ।
सडकको हाट अब आधुनिक कृषि बजारमा
वर्षौंदेखि रंगपुर बजारको सडकमा हरेक सोमबार र शुक्रबार लाग्दै आएको साप्ताहिक हाट अब नवनिर्मित कृषि बजार परिसरमा सञ्चालन हुने भएको छ । यसबाट सडकमा अव्यवस्थित रूपमा लाग्दै आएको हाटलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । वडाध्यक्ष गैरेले वडा नम्बर २ स्थित भुमरीमाई कृषि सहकारी संस्थालाई कृषि बजारको व्यवस्थापनको जिम्मेवारी दिएर सञ्चालनमा ल्याइएको बताए ।
उनका अनुसार तत्कालका लागि बजारमा पसल थाप्ने किसान तथा व्यापारीसँग कुनै शुल्क लिइने छैन । बजार नियमित र व्यवस्थित रूपमा सञ्चालन हुन थालेपछि करिब ६ महिनापछि शुल्क निर्धारण गरिनेछ । ‘अहिले किसान र व्यापारीलाई निःशुल्क रूपमा पसल थाप्ने व्यवस्था गरेका छौँ,’ वडाध्यक्ष गैरेले भने, ‘६ महिनापछि बजार व्यवस्थापन र सञ्चालनका लागि टेन्डर आह्वान गरी ठेक्कामार्फत सञ्चालन गर्ने योजना छ ।’
विद्युत् लगायतका अधुरा काम पूरा भएपछि सञ्चालन
आधुनिक कृषि बजारको निर्माण पूरा भई डेढ वर्षअघि नै उद्घाटन गरिए पनि विद्युत्लगायत केही काम बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको वडाध्यक्ष गैरेले बताए । उनका अनुसार बाँकी रहेका काम सम्पन्न गरी बजार सञ्चालनका लागि किसान तथा व्यापारीलाई सूचना दिइएको थियो । बजारको व्यवस्थापन र सञ्चालनसम्बन्धी निर्णय गर्न सर्वदलीय बैठकसमेत बसेको उनले जानकारी दिए ।
‘विद्युत्त लगायतका केही अधुरा काम पूरा गरेर आजदेखि बजार सञ्चालनमा ल्याएका हौँ,’ गैरेले भने, ‘किसान र व्यापारीलाई जानकारी गराएर बजारमा आउन आग्रह गरेका थियौँ । सर्वदलीय बैठकमार्फत व्यवस्थापन र सञ्चालनसम्बन्धी निर्णय पनि गरिएको छ ।’
१९ लाखको चिस्यान केन्द्र, ६ वटा पक्की सेड
रंगपुरमा निर्माण गरिएको आधुनिक कृषि बजारमा किसानका उत्पादन संकलन तथा बिक्री–वितरणका लागि ६ वटा व्यवस्थित पक्की सेड निर्माण गरिएको छ । बजार परिसरमा शौचालय र कम्पाउन्ड वालसमेत निर्माण गरिएको छ ।
त्यसैगरी, किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज भण्डारण गर्न बजार परिसरमै १९ लाख १९ हजार रुपैयाँको लागतमा मिनी कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ । उक्त चिस्यान केन्द्रको भण्डारण क्षमता १ मेट्रिक टन रहेको वडाध्यक्ष गैरेले जानकारी दिए । कृषि बजारको भवनभित्रै स्तनपान कक्षसमेत निर्माण गरिएको छ ।
आधुनिक कृषि बजार सञ्चालनमा आएसँगै स्थानीय किसानले आफ्ना उत्पादन बिक्री गर्न व्यवस्थित स्थान पाउने तथा कृषि उपजको भण्डारण र बजारीकरणमा सहजता हुने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !