जनकपुरधाम (धनुषा), ४ असोज । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुविधा सम्पन्न बसपार्क निर्माणको योजना सुरु भएको चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । निर्माण सम्पन्न भइसक्नुपर्ने समय गुज्रिसक्दा बसपार्कको अवस्था झन् अस्तव्यस्त बनेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा निर्माणाधीन बसपार्क अहिले यात्रुका लागि प्रयोगविहीनजस्तै बनेको छ । बसपार्कभित्र सडकमा खाल्डाखुल्डी, जमेको पानी र हिलोका कारण यात्रुलाई आवतजावत गर्न समस्या हुने गरेको छ । ठाउँठाउँमा फोहर थुप्रिएको र दुर्गन्ध फैलिएका कारण यात्रु बसपार्कभित्र पुग्नसमेत रुचाउँदैनन् ।
बसपार्कभित्रका सडकमा सवारीसाधन गुड्दा हिलो उछिट्टिएर पैदलयात्रीको कपडा फोहोर हुने अवस्था छ । त्यसैले अहिले बसपार्क मुख्यतः बस तथा अन्य सवारीसाधन पार्किङ गर्ने ठाउँका रूपमा सीमित भएको छ । टिकट काट्न र बस चढ्न यात्रुहरू बसपार्क पुग्ने अवस्था छैन । बसपार्कको मुख्य प्रवेशद्वारमा भने लाखौँ रुपैयाँ खर्च गरेर भव्य संरचना निर्माण भइरहेको देखिन्छ । तर प्रवेशद्वार पार गरेपछि भित्रको अवस्था भने त्यसको ठीक विपरीत छ । सडकमा हिलो र पानी जमेको छ भने ठाउँठाउँमा सडेगलेका फोहरको थुप्रो देखिन्छ । त्यही अव्यवस्थित वातावरणबीच बसहरू पार्किङ गरिएका छन् ।
बसपार्कभित्र निर्माण भएका भौतिक संरचनासमेत संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएका छन् । खुला ठाउँमा अग्ला घाँस र झाडी बढेका छन् । व्यवस्थित सार्वजनिक शौचालयको अभावमा कतिपय मानिस त्यही झाडीमा शौच गर्न बाध्य छन् । बसपार्क छाडा चौपायाको आश्रयस्थलसमेत बन्न थालेको छ । बसपार्कभित्र भेटिएका यातायातकर्मी मोहन प्रसाद साहले अहिलेको अवस्थाप्रति असन्तुष्टि जनाउँदै बसपार्क नाममा मात्र सीमित भएको बताए ।
‘बसपार्क नामको लागिमात्रै हो । यहाँको अवस्था तपाईंले देख्नुभएकै छ त, कुन एङ्गलबाट यसलाई बसपार्क भन्ने ?’ उनले भने । विभिन्न रुटमा सञ्चालन हुने बस पार्किङ गर्नुपर्ने भएकाले मात्रै यातायातकर्मीको चहलपहल देखिने गरेको साहले बताए । उनका अनुसार यात्रु भने बसपार्कमा आउन छाडेका छन् । जनकपुरबाट बाहिरिने यात्रुहरूले भमरपुरा चोक, रामानन्द चोक र पिडारी चोकबाटै बस चढ्ने गरेका छन् ।
‘भरतपुर, वीरगंज, विराटनगर लगायतका बसपार्कहरूभन्दा यो बसपार्कको क्षेत्रफल निकै ठूलो भए पनि व्यवस्थापनमा न बस व्यवसायी संघको ध्यान गएको छ, न त राज्यकै,’ उनले भने । राजविराज जाने तयारीमा रहेका बस चालक श्यामसुन्दर दासले पनि बसपार्कमा यात्रु नआउने गरेको बताए । आफू बस लिएर केही समयपछि राजविराजतर्फ प्रस्थान गर्न लागेको बताउँदै उनले बसमा यात्रु नभएको बताए ।
‘१० मिनेटपछि मेरो गाडी यहाँबाट हिँड्ने हो, बसमा गएर हेर्नुस् त– एकजना पनि यात्रु छन् ? यहाँ कोही पनि बसमा चढ्न आउँदैनन्,’ उनले भने । उनका अनुसार बसपार्क व्यवस्थित नहुँदा बसहरू खाली नै बाहिरिने गरेका छन् । त्यसपछि विभिन्न चोकमा पुगेर यात्रु चढाउने गरिएको उनले बताए ।
१० करोडभन्दा बढीको योजना चार वर्षदेखि अधुरो
जनकपुरधाम–२३ मा अत्याधुनिक सुविधासहितको नमूना बसपार्क निर्माण गर्ने उद्देश्यले २०७९ असारमा तत्कालीन शहरी विकासमन्त्री मेटमणि चौधरीले यसको शिलान्यास गरेका थिए ।
संघ सरकारअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ जनकपुरले आह्वान गरेको बोलपत्रमार्फत श्री नागार्जुन/हेम/सावित्री जेभी जनकपुरधाम–४ ले २०७९ असार ८ गते निर्माणको ठेक्का पाएको थियो । कुल १० करोड २८ लाख ६६ हजार ४३९ रुपैयाँ लागतमा निर्माण भइरहेको बसपार्क १५ महिनाभित्र, अर्थात् २०८० असार ५ गतेसम्म सम्पन्न गर्ने सम्झौता थियो । तर सम्झौता भएको समयसीमा सकिएको लामो समय बितिसक्दा पनि निर्माण कार्य पूरा भएको छैन ।
चार वर्ष पुग्दासमेत बसपार्क सञ्चालनमा आउन नसक्दा स्थानीय र यातायात व्यवसायी निराश छन् । योजनाअनुसार बसपार्क दुई चरणमा निर्माण गर्ने कार्यक्रम थियो । पहिलो चरणमा सार्वजनिक शौचालय, टिकट काउन्टर तथा चमेनागृह, तीन वटा वेटिङ सेट र १२५ वटा बसका लागि स्थायी पार्किङ यार्ड निर्माण गर्ने योजना थियो ।
यस्तै २५ वटा कार र ५० वटा मोटरसाइकलका लागि अस्थायी पार्किङ, १ दशमलव ५० मिटर चौडाइ र २ हजार २ सय मिटर लामो फुटपाथ, डाइरिङ सिस्टमका लागि दुई फिट व्यासका ८ सय ६० मिटर ह्युम पाइप राख्ने योजना पनि सम्झौतामा समेटिएको छ । ८ हजार ८१६ दशमलव ०५ वर्गमिटरको आरसीसी पार्किङ यार्ड, आगमन–प्रस्थानका लागि ८ हजार ७४९ दशमलव १६ वर्गमिटरको सडक निर्माण तथा बसपार्क परिसरमा १६० वटा वृक्षरोपण गर्ने योजना पनि रहेको छ ।
संघीय आयोजना कार्यान्वयन इकाइ जनकपुरधामका प्रमुख विनोद सिंहका अनुसार सम्झौतामा उल्लेख गरिएका केही काम सम्पन्न भइसकेका छन् । तर बसपार्कभित्रको सडक निर्माण पूरा नभएकाले समग्र संरचना अस्तव्यस्त देखिएको हो । सरकारले निर्माणको अन्तिम म्याद थप गरिसकेको बताउँदै सिंहले थपिएको समयभित्र काम सम्पन्न नभए ठेक्का तोडेर कारबाही अघि बढाउने बताए ।
‘सरकारले नै अन्तिम पटक म्याद थपेको छ । अब पुसभित्र ठेकेदारले काम सम्पन्न गर्नुपर्छ । यदि काम सम्पन्न गरेन भने ठेक्का तोडेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने । बिटुमिनलगायत निर्माण सामग्रीको मूल्य बढेका कारण पनि निर्माणमा केही समस्या आएको सिंहले बताए ।
दोस्रो चरणमा बहुउद्देश्यीय भवन बनाउने योजना
बसपार्कको दोस्रो चरणमा पसल, रेस्टुरेन्ट, कार्यालय तथा आगन्तुक आवाससहितको बहुउद्देश्यीय चारतले भवन निर्माण गर्ने योजना छ । यसबाहेक ग्यारेजसमेत निर्माण गर्ने प्रस्ताव छ । धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा जनकपुरधामको गतिविधि बढिरहेका बेला आधुनिक बसपार्क निर्माणको योजना अघि बढेपछि स्थानीयमा उत्साह थियो । तर निर्माणमा भइरहेको ढिलाइ, पूर्वाधारको बिग्रँदो अवस्था र सञ्चालनबारे देखिएको अन्योलले अहिले जनकपुरवासी निराश बन्न थालेका छन् ।







प्रतिक्रिया दिनुहोस् !