वीरगंज (पर्सा), ४ असोज । संविधान दिवसको अवसरमा प्याब्सन पर्साले आयोजना गरेको अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा–२०८३’ मा गौतम माध्यमिक विद्यालयकी छात्रा रीत रौनियार प्रथम भएकी छन् । परवानीपुरस्थित डीएभी स्कूलमा आयोजित प्रतियोगितामा विद्यासदन माध्यमिक विद्यालयकी अफ्रिना खातुन द्वितीय र द रोयल एकेडेमीकी नलिष्का प्रजापति तृतीय स्थान हासिल गर्न सफल भए ।
यस्तै मुनलाइट माध्यमिक विद्यालयकी चौधरी चौथो तथा डीएभी आरबी केडिया माध्यमिक विद्यालयकी सान्वी गुप्ता पाँचौँ स्थानमा रहिन् । प्रतियोगितामा पर्साका २८ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरूले संविधान, राष्ट्र तथा समसामयिक विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए । उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
डीएभी स्कूलका प्रिन्सिपल राकेश मिश्राको संयोजनमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले गरेका थिए । कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा प्याब्सन मधेस प्रदेशका उपाध्यक्षद्वय पुरन प्रधान र इमामुद्दिन अहमद, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, सल्लाहकार हरिश्याम ठाकुर, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव तथा प्याब्सन वीरगंजका सचिव अमित आलोक लगायतको उपस्थिति थियो ।
प्याब्सन पर्साका जिल्ला सचिव अशोक सङ्ग्रौलाका अनुसार प्रतियोगिताले विद्यार्थीमा सार्वजनिक रूपमा आफ्ना विचार राख्ने क्षमता, आत्मविश्वास, अभिव्यक्ति कौशल तथा संवैधानिक विषयप्रतिको ज्ञान अभिवृद्धि गर्न सहयोग पुर्याएको छ । प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने प्रभावकारी मञ्चसमेत प्रदान गरेको उनले बताए ।
बाढीपीडितका लागि सहयोग गर्ने विद्यालय सम्मानित
कार्यक्रमकै अवसरमा रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सहयोग गर्ने ५३ वटा विद्यालयलाई सम्मान गरिएको छ । केन्द्रीय प्याब्सनको आह्वानमा प्याब्सन पर्साको समन्वयमा आबद्ध विद्यालयहरूले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै ती विद्यालयका सञ्चालक, अभिभावक तथा विद्यार्थीलाई सम्मान गरिएको हो ।
वक्तृत्वकलामार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै विपद्मा मानवीय सहयोगको भावना प्रदर्शन गर्ने विद्यालय तथा विद्यार्थीलाई सम्मान गर्दै कार्यक्रमले शिक्षा र सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोडेको आयोजकले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !