पोखरिया (पर्सा), २ असोज । पर्साको पोखरिया नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने क्रममा सेवाग्राहीबाट रकम असुल्ने गरिएको आरोप लागेको छ । विवरण संकलनमा संलग्न व्यक्तिहरूले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीसँग प्रतिव्यक्ति ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म असुल्ने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण संकलनका नाममा दैनिक करिब १० हजारदेखि १५ हजार रुपैयाँसम्म रकम उठ्ने गरेको बताइएको छ । यद्यपि, उक्त रकम असुलीको आरोपबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ ।
विवरण संकलन केन्द्रमा सेवाग्राहीलाई अनावश्यक झन्झट दिने गरिएको गुनासोसमेत बढेको छ । सेवाग्राहीका अनुसार सोमबारदेखि शुक्रबारसम्म केन्द्रमा कहिले ‘नेट चलेन’ त कहिले ‘सर्भर डाउन छ’ भन्दै उनीहरूलाई फर्काउने गरिएको छ । टोकन लिएर आएका सेवाग्राहीले समेत निर्धारित समयमा सेवा नपाउँदा टोकनको म्याद सकिने र पुनः टोकन लिन लामो लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । ग्रामीण क्षेत्रबाट राष्ट्रिय परिचयपत्र बनाउन पोखरिया आउने सर्वसाधारणले एकैपटकमा सेवा नपाउँदा समय र खर्च दुवै बढ्ने गरेको छ । पटकपटक केन्द्र धाउनुपर्ने अवस्थाले विशेषगरी आर्थिक रूपमा कमजोर तथा दैनिक ज्यालादारीमा निर्भर सेवाग्राही थप मारमा पर्ने गरेका छन् ।
दुई जनाको विवरण संकलन गर्न ३ हजार मागेको गुनासो
यसैबीच, केही दिनअघि पकाहामैनपुर गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन गराउन पोखरिया पुगेकी एक दलित महिलाले आफू र आफ्ना श्रीमान्को विवरण संकलनका लागि बिचौलियाले ३ हजार रुपैयाँ मागेको गुनासो गरेकी छन् । महिलाका अनुसार माग गरिएको रकम दिन अस्वीकार गरेपछि उनका श्रीमान्को नागरिकतामा रहेको होलोग्राम स्टिकर झिकेर भुइँमा खसालिएको थियो । नयाँ नागरिकतामा होलोग्राम स्टिकर किन नभएको भन्दै विवरण संकलन केन्द्रमा प्रश्न गर्दा आफ्ना श्रीमान्लाई हप्काउने तथा धाकधम्की दिने व्यवहार गरिएको उनको आरोप छ । ती महिलाका श्रीमान् नवल रामका अनुसार छोरीको विवाहका लागि बैंकबाट ऋण लिनुका साथै बैंक खाता सञ्चालन गर्न राष्ट्रिय परिचयपत्र आवश्यक परेको हो । यही प्रयोजनका लागि आफूहरू पोखरियास्थित विवरण संकलन केन्द्रमा आएको उनले बताए ।
उनकी श्रीमतीको गुनासोअनुसार सेवा प्राप्त गर्न आवश्यक कागजात तथा प्रक्रियाका विषयमा स्पष्ट जानकारी दिनुको सट्टा रकम मागिएको थियो । रकम मागिएको विषयमा विवाद भएपछि नागरिकताको होलोग्राम स्टिकरसमेत झिकेर थप समस्या सिर्जना गरिएको उनको आरोप छ ।
रकम नदिने सेवाग्राहीलाई थप सास्ती दिएको आरोप
स्रोतका अनुसार विवरण संकलनका क्रममा रकम नदिएका केही सेवाग्राहीको नागरिकतामा रहेको होलोग्राम स्टिकर झिकेर भुइँमा फालिदिने गरिएको आरोपसमेत लागेको छ । त्यसपछि सम्बन्धित सेवाग्राहीलाई नागरिकताको प्रतिलिपि लिएर पुनः केन्द्रमा आउनुपर्ने अवस्था सिर्जना हुने गरेको बताइएको छ । अर्कोतर्फ, रकम बुझाएर एजेन्टमार्फत सेवा लिन पुगेका केही व्यक्तिलाई भने लाइनमा बस्न नपर्ने व्यवस्था मिलाउने गरिएको स्रोतको दाबी छ ।
यसले सर्वसाधारण सेवाग्राही र बिचौलियामार्फत सेवा लिने व्यक्तिबीच विभेदपूर्ण व्यवहार हुने गरेको आशंका जन्माएको छ । स्रोतले होलोग्राम स्टिकर नभएका नागरिकतामा समेत सम्बन्धित कर्मचारी वा विवरण संकलनमा संलग्न व्यक्तिहरूले आफैं स्टिकर टाँसेर राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया अघि बढाउने गरेको दाबी गरेको छ । प्रयोग गरिएका स्टिकरसमेत आफूसँगै राख्ने गरिएको आरोप छ । यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
निष्पक्ष छानबिनको माग
राष्ट्रिय परिचयपत्र राज्यले नागरिकलाई उपलब्ध गराउने महत्वपूर्ण पहिचानसम्बन्धी दस्तावेज हो । बैंकिङ सेवा, सरकारी सुविधा तथा विभिन्न प्रशासनिक प्रयोजनका लागि यसको आवश्यकता बढ्दै गएको अवस्थामा विवरण संकलन केन्द्रमा सेवाग्राहीसँग रकम मागिने, अनावश्यक दुःख दिने वा प्रक्रियागत अवरोध सिर्जना गर्ने आरोप गम्भीर विषय बनेको छ ।
स्थानीयवासी तथा सेवाग्राहीले पोखरिया राष्ट्रिय परिचयपत्र विवरण संकलन केन्द्रमा देखिएको भनिएको अनियमितताबारे निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले सेवाग्राहीबाट असुली भएको भनिएको रकम, विवरण संकलनमा संलग्न व्यक्तिहरूको भूमिका, टोकन वितरण प्रक्रिया तथा नागरिकताको होलोग्राम स्टिकर प्रयोगसम्बन्धी विषयमा छानबिन हुनुपर्ने बताएका छन् ।
सेवाग्राहीलाई सहज, निःशुल्क र पारदर्शी सेवा उपलब्ध गराउनुपर्ने सरकारी केन्द्रमै रकम असुली र विभेदपूर्ण व्यवहारको आरोप लाग्नुले सेवा प्रवाहको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । सम्बन्धित निकायले आरोपको निष्पक्ष अनुसन्धान गरी दोषी देखिएका व्यक्तिमाथि कारबाही र सेवाग्राहीको गुनासो सम्बोधन गर्नुपर्ने माग गरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !