वीरगंज (पर्सा), २१ भदौ । वीरगंजका क्यासिनोमा नेपाली नागरिकको प्रवेशमाथि कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि निर्वाध रूपमा जुवा खेलाइने गरेको आरोपबीच पर्सा प्रहरीले गरेको कारबाहीले क्यासिनोभित्रको पहुँच, संरक्षण र सम्भावित मिलेमतोलाई पुष्टि गरिदिएको छ । प्रहरीले वीरगंज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि क्यासिनोमा छापा मारेर स्थानीय तहका अध्यक्ष, कार्यरत प्रहरी निरीक्षकसहित आठ जनालाई नियन्त्रणमा लिएपछि यो विषय थप चर्चामा आएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ १२ गते राति करिब १०ः३० बजे क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो । सूचनाको आधारमा गरिएको कारबाहीका क्रममा जुवा खेलिरहेको आरोपमा चार जना र नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न आरोपमा क्यासिनाका चार कर्मचारी गरी आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव, सोही गाउँपालिका–६ का ३० वर्षीय चन्दन सहनी, वीरगंज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा र इलाका प्रहरी कार्यालय पोखरियामा प्रहरी निरीक्षकका रूपमा कार्यरत स्याङ्जाको हरिनास गाउँपालिका–९ का ३६ वर्षीय प्रदीप पौडेल रहेका छन् । यादव नेकपा एमालेबाट निर्वाचित सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष हुन् भने पौडेल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुखका रूपमा कार्यरत प्रहरी निरीक्षक छन् । एउटै क्यासिनोबाट जनप्रतिनिधि र प्रहरी अधिकारी नै पक्राउ परेपछि वीरगंजमा क्यासिनो संचालन र नेपाली नागरिकको प्रवेशसम्बन्धी व्यवस्थामाथि गम्भीर बहस सुरु भएको छ ।
प्रहरीका अनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगंज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगंज–१२ का ५० वर्षीय प्रदेशी साहलाई समेत पक्राउ गरिएको छ । प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेकाहरुमाथि जुवा ऐन सम्बधी कानूनी प्रक्रिया अघि बढाइने बताइएको छ ।
सरकारी गाडी क्यासिनो परिसरमै
यो घटनालाई थप गम्भीर बनाउने अर्को पक्ष सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधन क्यासिनो परिसरबाट नियन्त्रणमा पर्नु हो । प्रहरीका अनुसार गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कार्पियो क्यासिनो परिसरमा भेटिएपछि नियन्त्रणमा लिइएको हो । सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने सरकारी सवारीसाधन रातको समयमा क्यासिनो परिसरमा भेटिनुले यसको प्रयोग कसरी र कुन प्रयोजनका लागि भयो भन्ने विषयमा पनि प्रश्न खडा गरेको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । सरकारी स्रोतसाधन निजी मनोरञ्जन वा जुवा खेल्ने प्रयोजनमा प्रयोग भएको हो कि होइन भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुने अपेक्षा गरिएको छ ।
क्यासिनोबाट हार्डडिक्सदेखि सीसीटीभीसम्म बरामद
पर्सा प्रहरीले कारबाहीका क्रममा क्यासिनोबाट विभिन्न महत्वपूर्ण सामग्रीसमेत नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले क्यासिनाको हार्डडिक्स, विभिन्न कागजात, कम्प्युटर तथा सीसीटीभीको डीभीआर बक्स नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । यी सामग्रीबाट क्यासिनोमा को–को प्रवेश गर्थे, नेपाली नागरिकलाई कसरी प्रवेश गराइन्थ्यो, जुवा खेलाउने प्रक्रिया कसरी सञ्चालन हुन्थ्यो तथा त्यसमा कर्मचारी वा अन्य व्यक्तिको संलग्नता कस्तो थियो भन्नेबारे प्रमाण संकलन गर्न प्रहरीलाई सहयोग पुग्ने देखिन्छ ।
विशेषगरी सीसीटीभी फुटेज र डिजिटल उपकरण अनुसन्धानका लागि महत्वपूर्ण हुनसक्ने प्रहरी स्रोतको भनाइ छ । क्यासिनोमा प्रवेश गर्ने व्यक्तिको विवरण, उनीहरूको गतिविधि तथा प्रहरी टोली पुग्नुअघिको घटनाक्रमसमेत त्यसबाट खुल्न सक्ने सम्भावना छ ।
‘उत्कृष्ट प्रहरी’ पुरस्कार पाएका इन्स्पेक्टर नै क्यासिनोमा
यस घटनामा प्रहरी निरीक्षक प्रदीप पौडेल पक्राउ पर्नु आफैंमा असामान्य विषय बनेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पौडेलले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरीबाट नगदसहित पुरस्कारसमेत पाएका थिए । तर, अहिले उनै प्रहरी निरीक्षक क्यासिनोमा जुवा खेलेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पौडेल ड्युटीमा नरहेको समयमा गाउँपालिका अध्यक्ष यादव तथा केही स्थानीय व्यवसायीसहित क्यासिनो पुगेका थिए । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना पाएपछि प्रहरीले कारबाही गर्दा उनी पनि त्यहीँ भेटिएको बताइएको छ । यो घटनाले प्रहरी संगठनभित्र कार्यरत अधिकारीको आचरण, जिम्मेवारी र कानुन कार्यान्वयनमा उनीहरूको भूमिकामाथि समेत प्रश्न उठाएको छ । अझ प्रहरीकै एक अधिकारी क्यासिनोमा जुवा खेलिरहेको आरोपमा पक्राउ पर्नुले सामान्य नागरिकमाथि कानुन कार्यान्वयन गर्ने निकायका सदस्य आफैंले कानुन उल्लंघन गरेको अवस्था हो कि होइन भन्ने विषय अनुसन्धानको केन्द्रमा पुगेको छ ।
वर्षौंदेखिको गुनासोपछि पर्सा प्रहरीको कारबाही
वीरगंजमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकको प्रवेश र जुवाका कारण सर्वसाधारण प्रभावित भइरहेको गुनासो लामो समयदेखि उठ्दै आएको थियो । क्यासिनोमा नेपाली नागरिक प्रवेश गर्न नपाउने व्यवस्था भएपनि व्यवहारमा ठूलो संख्यामा नेपालीहरू प्रवेश गर्ने गरेको आरोप बारम्बार लाग्दै आएको छ ।
स्थानीयस्तरमा उठ्ने गरेको गुनासोअनुसार क्यासिनोमा आर्थिक रूपमा सक्षम व्यक्ति, व्यवसायी, राजनीतिक पहुँच भएका व्यक्ति तथा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरू पुग्ने गरेका छन् । जुवामा ठूलो रकम गुमाएर आर्थिक संकटमा परेको, परिवारमा विवाद बढेको र कतिपय व्यक्ति घरजग्गासमेत गुमाउने अवस्थामा पुगेको दाबीसमेत सुनिँदै आएको छ । यद्यपि यस्ता दाबीको आधिकारिक तथ्यांक सार्वजनिक नभए पनि क्यासिनोमा नेपाली नागरिकको प्रवेशसम्बन्धी प्रश्न भने पटक–पटक उठ्दै आएको छ ।
यसपटक पर्सा प्रहरीले गरेको कारबाहीले भने ‘कानुनभन्दा माथि कोही छैन’ भन्ने सन्देश दिन खोजेको देखिन्छ । जनप्रतिनिधि, प्रहरी अधिकारी वा अन्य प्रभावशाली व्यक्ति जोसुकै भएपनि अनुसन्धानको दायरामा ल्याउन सकिने प्रहरीको कदमका रूपमा यसलाई हेरिएको छ ।
अरू दुई पालिका अध्यक्ष पनि क्यासिनोमा थिए ?
घटनासँगै अर्को गम्भीर दाबी पनि बाहिर आएको छ । क्यासिनो स्रोतको दाबीअनुसार कारबाहीका क्रममा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवबाहेक पर्साका अन्य दुई स्थानीय तहका अध्यक्षसमेत क्यासिनोमा उपस्थित थिए । प्रहरी टोली क्यासिनोमा पुगेपछि उनीहरूमध्ये एकजना शौचालयबाट भागेको र अर्का एकजना पहिल्यै शौचालयमा बसेको अवस्थामा रहेको दाबी गरिएको छ । क्यासिनो स्रोतले तीमध्ये एक जनाले शौचालयमै गाँजा सेवन गरिरहेकोसमेत दाबी गरेको छ ।
‘ठूला’ व्यक्तिमाथि कारबाहीको सन्देश
वीरगंजका क्यासिनोमा सामान्य नागरिक प्रवेश गर्दा हुने कानुनी जोखिम र प्रभावशाली व्यक्ति प्रवेश गर्दा हुने व्यवहारबीच फरक छ कि छैन भन्ने प्रश्न पनि अब उठेको छ । लामो समयदेखि पहुँच र प्रभावका आधारमा केही व्यक्ति क्यासिनोमा निर्बाध प्रवेश गर्ने गरेको आरोप लाग्दै आएको थियो । तर यसपटक गाउँपालिका अध्यक्षदेखि कार्यरत प्रहरी निरीक्षकसम्म पक्राउ पर्नुले पर्सा प्रहरीले कम्तीमा यो विषयमा दबाब र पहुँचभन्दा बाहिर गएर कारबाही गर्न खोजेको संकेत दिएको छ ।
जिल्ला प्रहरी प्रमुख पवनकुमार भट्टराई स्वयं क्यासिनोमा पुगेर कारबाही अघि बढाएको विवरणले पनि घटनालाई थप महत्व दिएको छ । सामाजिक सञ्जालमा समेत पर्सा प्रहरीको कदमको प्रशंसा भइरहेको बताइएको छ । तर कारबाहीको वास्तविक मूल्यांकन भने पक्राउमा मात्र सीमित हुनुहुँदैन । क्यासिनोमा नेपाली नागरिक कसरी प्रवेश गरिरहेका छन्, प्रवेश गराउने संयन्त्र कसरी सञ्चालन भइरहेको छ, त्यसमा कस–कसको भूमिका छ, सरकारी सवारीसाधन क्यासिनोमा किन पुग्यो, प्रहरी अधिकारी त्यहाँ कुन उद्देश्यले पुगे र लामो समयदेखि भइरहेको भनिएको यस्तो गतिविधिमाथि विगतमा किन प्रभावकारी कारबाही हुन सकेन भन्ने प्रश्नको जवाफ अनुसन्धानबाट आउन आवश्यक छ ।
क्यासिनोबाट नियन्त्रणमा लिइएका हार्डडिक्स, कम्प्युटर, कागजात र सीसीटीभी फुटेजले यदि वास्तविकता बाहिर ल्याउन सके भने यो एउटा रातको छापा मात्र नभई वीरगंजका क्यासिनोमा चलिरहेको भनिएको पहुँच, संरक्षण र अवैध प्रवेशको संरचना उजागर गर्ने महत्वपूर्ण अनुसन्धान बन्न सक्छ । अहिले पक्राउ परेका आठै जनामाथि अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानले आरोपको सत्यता, क्यासिनोमा उनीहरूको वास्तविक भूमिका र अन्य व्यक्तिको संलग्नतासमेत स्पष्ट पार्नेछ ।
वीरगंजका क्यासिनोमा नेपाली नागरिकको प्रवेशमाथि उठ्दै आएको प्रश्नको स्थायी समाधानका लागि भने एउटा क्यासिनोमा छापा पर्याप्त हुने छैन । नियम उल्लंघन गर्ने क्यासिनो सञ्चालकदेखि प्रवेश गराउने कर्मचारी, संरक्षण गर्ने व्यक्ति र नियम मिचेर प्रवेश गर्ने प्रभावशाली व्यक्तिसम्म सबैको भूमिका निष्पक्ष रूपमा छानबिन हुनुपर्ने देखिन्छ । यस घटनाले नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरिएको हो भने, वर्षौंदेखि उनीहरूलाई भित्र पुर्याउने ‘ढोका’ कसले खोलिरहेको थियो ?







प्रतिक्रिया दिनुहोस् !