नुवाकोट, २० भदौ । परिवारले मृत्यु भइसकेको ठानेर कुशको शव बनाएर काजकिरिया गरिसकेको थियो । बाढी आएको दिनदेखि तिथि गणना गर्दै १०औँ दिनको कर्मसमेत पूरा भइसकेको थियो । तर शनिबार ११औँ दिनको मृत्यु संस्कार चलिरहेकै बेला परिवारमा आएको एउटा खबरले शोकलाई एकाएक खुसीमा बदलिदियो ‘चण्डिका जीवितै भेटिइन् ।’ नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीकी ६४ वर्षीया चण्डिका श्रेष्ठलाई बाढीपछि बेपत्ता भएको आठ दिनसम्म खोज्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारले उनको मृत्यु भएको निष्कर्ष निकालेको थियो । तर परिवारले अन्तिम संस्कार सुरु गरेको ११औँ दिन सुरक्षाकर्मीले उनलाई घरको भग्नावशेषभित्रबाट जीवितै उद्धार गरेका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बेत्रावती क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । बाढीले घरसमेत बगाएपछि चण्डिका सम्पर्कविहीन भएकी थिइन् । परिवारले सडक, घरका भग्नावशेष, बाढीले थुपारेको लेदो तथा आसपासका सम्भावित स्थानमा लगातार आठ दिनसम्म खोजी गरेको थियो। तर उनको कुनै सुराग फेला परेन । सम्भावित सबै ठाउँमा खोज्दा पनि चण्डिका नभेटिएपछि वडा कार्यालयको प्रक्रिया तथा परिवारसँगको छलफलपछि उनलाई जीवित भेटिने सम्भावना न्यून रहेको निष्कर्ष निकालियो । त्यसपछि परिवारले कुशको शव बनाएर हिन्दू परम्पराअनुसार मृत्यु संस्कार सुरु गरेको थियो । तर शनिबार बिहान बेत्रावतीमा खटिएको सुरक्षाकर्मीको टोलीले सुनेको एउटा अस्पष्ट आवाजले घटनाको दिशानै बदलिदियो ।
सडक निर्माणका लागि खटिएको सशस्त्र प्रहरीको टोली भग्नावशेष आसपास पुगेका बेला प्रहरी निरीक्षक सुमन विकको नेतृत्वको टोलीले घरभित्रबाट आवाज आएको आभास पायो । शंका लागेपछि सुरक्षाकर्मीहरू पुनः त्यही स्थानमा पुगे । यसपटक आवाज अझ स्पष्ट सुनिएपछि उनीहरूले तत्काल भग्नावशेष हटाएर खोजी थाले । झ्याल फोडेर सुरक्षाकर्मी भग्नावशेषभित्र प्रवेश गरे । उद्धार टोली घिस्रिँदै अगाडि बढिरहेका बेला चण्डिकाले पुनः आवाज निकालिन् । त्यसपछि लेदो र थुप्रिएको भग्नावशेष पन्छाउँदै सुरक्षाकर्मीले उनलाई अर्धचेत अवस्थामा जीवितै बाहिर निकाले ।
उद्धारपछि घटनास्थलमै प्राथमिक उपचार गरिएको थियो । त्यसपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक हुँदै काठमाडौं पठाइएको हो । हाल चण्डिकाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । चण्डिका जीवितै भेटिएको खबर पाएलगत्तै मृत्यु संस्कारमा बसेका परिवारका सदस्यहरूले काजकिरिया रोकेर काठमाडौंको बाटो समाते । छोरीको फोन तथा सामाजिक सञ्जालमार्फत आमाको जीवित उद्धार भएको खबर पाएपछि उनीहरू तत्काल अस्पताल पुगेका हुन् । परिवारका अनुसार चण्डिका बेपत्ता भएयता उनका श्रीमान् आनन्दलाल श्रेष्ठसहित परिवारका केही सदस्यसमेत अझै सम्पर्कविहीन छन् । परिवारले उनीहरू बस्दै आएको घर तथा आसपासको भग्नावशेषमा पनि खोजीलाई तीव्रता दिन सुरक्षा निकायसँग आग्रह गरेको छ ।
मृत्यु भइसकेको ठानेर कुशको शव बनाएर अन्तिम संस्कार सुरु गरिएको महिलालाई ११औँ दिन भग्नावशेषबाट जीवितै उद्धार गरिएको घटनाले बाढीपीडित परिवारमा आशाको नयाँ किरण जगाएको छ । बाढीपछि अझै धेरै मानिसको अवस्था यकिन हुन नसकेको अवस्थामा चण्डिकाको जीवित उद्धारले ‘अझै खोजे भेटिन सक्छन्’ भन्ने आशा थप बलियो बनाएको छ । यसैबीच, शनिबार नेपाली सेनाले रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकलाई पनि जीवितै उद्धार गरेको छ । चिनियाँ उद्धार टोलीको सहयोगमा सुरुङभित्र करिब २२५ मिटरको दूरीमा फसेका लुहाईतो नामका चिनियाँ नागरिकलाई उद्धार गरिएको हो । उनको पनि काठमाडौंस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस् !