वीरगंज (पर्सा), १८ भदौ । श्रीकृष्ण जन्माष्ठमीको अवसरमा लिटल एन्जल बोर्डिङ स्कुलमा विद्यार्थीहरूको सहभागितामा विशेष कार्यक्रम आयोजना गरी पर्व भव्य रूपमा मनाइएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरू राधा तथा कृष्णको आकर्षक भेषमा सजिएर कार्यक्रममा सहभागी भएका थिए । जन्माष्ठमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे विद्यार्थीहरूलाई जानकारी गराउनुका साथै उनीहरूको सिर्जनात्मकता, सांस्कृतिक ज्ञान र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिङले बताए ।
कार्यक्रममा विद्यार्थीहरूले राधा–कृष्णको पोसाकमा सजिएर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । विशेषगरी साना बालबालिकाहरू कृष्ण तथा राधाको भेषमा प्रस्तुत हुँदा विद्यालय परिसर निकै आकर्षक र रमाइलो बनेको थियो । विद्यार्थीहरूले भगवान् श्रीकृष्णका बाललीला, धार्मिक तथा सांस्कृतिक पक्ष झल्काउने विभिन्न गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
कार्यक्रमका क्रममा विद्यालयका शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरूलाई श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए । भगवान् श्रीकृष्णका जीवन, उनका शिक्षाहरू तथा सत्य, कर्तव्य, प्रेम र सद्भावको सन्देशबारे समेत विद्यार्थीहरूलाई जानकारी दिइएको थियो । पर्वलाई विद्यालयस्तरमै व्यवहारिक तथा सिर्जनात्मक रूपमा मनाउँदा बालबालिकामा आफ्नो मौलिक कला, संस्कृति, परम्परा र धार्मिक मूल्यप्रति रुचि बढ्ने विद्यालयको विश्वास छ ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सामूहिक सहभागिता र प्रस्तुति क्षमताको विकास गर्न समेत सहयोग पुग्ने प्रिन्सिपल पाख्रिङले बताए । उनका अनुसार बालबालिकालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमार्फत व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।
कार्यक्रममा विद्यार्थीहरूसँगै विद्यालयका शिक्षक–शिक्षिकाहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो । राधा–कृष्णको भेषमा सजिएका बालबालिकाको प्रस्तुति तथा विभिन्न गतिविधिले जन्माष्टमी कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएको थियो ।







प्रतिक्रिया दिनुहोस् !