सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा १० साउनको राति एउटा चप्पल रगताम्ये भयो । त्यो चप्पल कुनै प्रदर्शनको तयारी गरेर लगाइएको थिएन, न त कुनै राजनीतिक मञ्चमा उभिनका लागि । स्थानीय ओमप्रकाश मेहता खाना खाएर सुत्न लागेका बेला गाउँमा झडप भएको खबर सुनेर हतारिँदै चोक पुगेका थिए । चप्पलमै पुगेका उनी प्रहरीको गोली लागेर ढले । चप्पल रगतले भिज्यो, उनी अस्पताल पुग्न नपाउँदै मृत घोषित भए । त्यो चप्पल अहिले एउटा वस्तु मात्र रहेन । त्यो मधेशको प्रश्न बनेको छ । काठमाडौको जेनजी आन्दोलनमा रगतले लतपतिएको जुत्ता विद्रोहको प्रतीक बन्यो । सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म त्यो जुत्ताले नयाँ पुस्ताको आक्रोश र परिवर्तनको चाहना बोकेको विम्बका रूपमा स्थान पायो । तर कप्तानगञ्जको रगताम्ये चप्पलले त्यस्तो राष्ट्रिय स्थान पाएन । किन ? के त्यसको कारण चप्पल सस्तो हुनु हो ? कि त्यो मधेशको नागरिकले लगाएको हुनाले हो ?
मधेशमा चप्पल केवल गरिबीको परिचय होइन । यो खेतको आलीदेखि बजारसम्म, गाउँदेखि सदरमुकामसम्म र दैनिक श्रमदेखि आन्दोलनको सडकसम्म साथ दिने जीवनको साथी हो । मधेशका हजारौँ नागरिकका खुट्टामा रहेका यिनै चप्पलले वर्षौंदेखि अधिकार, समानता र न्यायको बाटो नापेका छन् । त्यसैले कप्तानगञ्जको रगताम्ये चप्पललाई एउटा मृतकको व्यक्तिगत सामानका रूपमा मात्र हेर्नु इतिहास र वर्तमान दुवैसँग अन्याय हुनेछ । त्यो चप्पलले राज्यलाई कठोर प्रश्न सोधेको छ—मधेशका नागरिकको जीवनको मूल्य कति हो ? काठमाडौंमा भएको आन्दोलन राष्ट्रिय सरोकार बन्छ । राजधानीका सडकमा उठेको आवाज सत्ताको कानसम्म छिटो पुग्छ । तर मधेशका गाउँमा भएको गोलीकाण्ड, मृत्यु र पीडाले राष्ट्रिय बहसमा स्थान पाउन किन संघर्ष गर्नुपर्छ? सिंहदरबारबाट केही किलोमिटर टाढाको आक्रोश सुनिन्छ, तर राजधानीबाट केही सय किलोमिटर टाढाको नागरिकको चित्कार किन मधुरो सुनिन्छ ? यही विभेदको अर्को नाम हो कप्तानगञ्ज ।
सरकार र पीडित परिवारबीच सहमति भयो । तर सहमति कागजमा सीमित भयो भने त्यसको अर्थ के रहन्छ ? राज्यले आफैँ गरेको प्रतिबद्धता कार्यान्वयन गर्न नसक्नु केवल प्रशासनिक कमजोरी होइन, पीडितप्रतिको अपमान हो । अझ काठमाडौंमा उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताको शव परिवारले नबुझ्नुले समस्या अझ गम्भीर बनाएको छ । परिवार शवसँगै न्यायको माग गरिरहेको छ भने राज्य सहमतिको कार्यान्वयनबाट किन पन्छिरहेको छ ? राज्यको शक्ति नागरिकलाई दबाउन होइन, नागरिकको जीवन र अधिकार जोगाउन प्रयोग हुनुपर्छ । गोली चलाउने अधिकारभन्दा ठूलो जिम्मेवारी त्यसको औचित्य पुष्टि गर्ने हो । तीन नागरिकको ज्यान गएको घटनामा निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितसँग भएको सहमतिको पूर्ण कार्यान्वयनबिना न्यायको अध्याय बन्द हुन सक्दैन ।
कप्तानगञ्जको चप्पललाई गुमनाम हुन दिनु हुँदैन । किनकि त्यो चप्पल ओमप्रकाशको मात्र होइन—मधेशको श्रम, अपमान, आक्रोश र न्यायको यात्राको प्रतीक हो । काठमाडौंको जुत्ता विद्रोहको आइकन बन्न सक्छ भने मधेशको रगताम्ये चप्पल पनि प्रश्नको आइकन बन्नुपर्छ । त्यो चप्पलले राज्यलाई सम्झाइरहेको छ सत्ता बदलिन सक्छ, सरकार बदलिन सक्छ, तर नागरिकको रगतको हिसाब कहिल्यै पुरानो हुँदैन ।







प्रतिक्रिया दिनुहोस् !