वीरगंज (पर्सा), १३ साउन । वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ परेपछि त्यसको विरोधमा महानगरका सबै ३२ वटा वडा कार्यालयले नियमित प्रशासनिक सेवा अनिश्चितकालका लागि बन्द गरेका छन् । महानगरका सम्पूर्ण वडाध्यक्षहरूको सामूहिक निर्णयअनुसार साउन १३ गतेदेखि अत्यावश्यक सेवा बाहेकका सबै सेवा स्थगित गरिएको हो ।
साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगंज–२५ निवासी राजकुमार कुर्मीको मृत्यु भएपछि चिकित्सकको लापरवाहीका कारण घटना भएको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । सो घटनापछि पीडित परिवार र प्रशासनबीच समन्वय तथा समाधानका लागि सक्रिय भूमिका निर्वाह गरेका वडाध्यक्ष चतुर्वेदीलाई उनले व्यक्त गरेको धारणा र संलग्नतालाई आधार बनाएर स्थानीय प्रहरीले महानगरपालिका परिसरबाटै पक्राउ गरेको जनाइएको छ ।
जनप्रतिनिधिले नागरिकको हकहितका पक्षमा बोलेकै कारण पक्राउ पर्नु लोकतान्त्रिक मूल्य र जनप्रतिनिधिको सम्मानमाथिको प्रहार भएको ठहर गर्दै महानगरका सबै वडाध्यक्षहरूले उक्त कदमको कडा विरोध गरेका छन् । उनीहरूले यसअघि साउन १२ गते संयुक्त प्रेस विज्ञप्तिमार्फत वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न स्थानीय प्रशासनसँग माग गरेका थिए । तर, सामूहिक आग्रहपछि पनि चतुर्वेदीलाई रिहा नगरिएकाले बाध्य भएर वडा कार्यालयका नियमित सेवा बन्द गर्नुपरेको वडाध्यक्षहरूले स्पष्ट पारेका छन् ।
जारी विज्ञप्तिमा पक्राउ परेका वडाध्यक्षलाई तत्काल ससम्मान रिहा नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिइएको छ । वडाध्यक्षहरूले आन्दोलनका कारण सिर्जना हुन सक्ने कुनै पनि असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले नै वहन गर्नुपर्ने चेतावनीसमेत दिएका छन् । वडा कार्यालयहरूमा सेवा स्थगित भएपछि वीरगंज महानगरपालिकाका ३२ वटै वडाबाट प्रदान गरिने सिफारिस, जन्म–मृत्यु तथा अन्य दर्ता, विभिन्न प्रमाणपत्रलगायतका नियमित प्रशासनिक सेवा प्रभावित भएका छन् । यद्यपि, अत्यावश्यक सेवाहरू भने पूर्ववत् सञ्चालनमा रहने जनाइएको छ ।







प्रतिक्रिया दिनुहोस् !