जनकपुरधाम (धनुषा), २६ असार । मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई मधेशको समाजमा अझै पनि हेयको दृष्टिले हेर्ने प्रवृत्ति कायमै छ । कसैलाई मानसिक समस्या भएको थाहा पाएपछि सहजै ‘पागल’को संज्ञा दिने सामाजिक मानसिकताका कारण धेरैले आफ्नो अवस्था लुकाउने, परिवारसँग समेत खुलेर कुरा नगर्ने र अस्पतालसम्म पुग्न हिच्किचाउने गरेका छन् । फलस्वरूप सामान्य तनाव, चिन्ता वा डिप्रेसनजस्ता समस्या जटिल अवस्थामा पुगेपछि मात्र विशेषज्ञको पहुँचमा पुग्ने अवस्था देखिएको छ । विश्वभर मानसिक स्वास्थ्य प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा स्थापित भइसकेको भएपनि मधेश प्रदेशमा विशेषज्ञ जनशक्तिको अभाव, सामाजिक कलंक, अन्धविश्वास तथा सेवामा सीमित पहुँचका कारण समस्या थप गम्भीर बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।
बढ्दो आत्महत्याको चिन्ताजनक तथ्याङ्क
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा आत्महत्याका घटनामा पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि भएको छ ।
२०७७/७८ – ९५९ जना
२०७८/७९ – १,०१८ जना
२०७९/८० – १,१३४ जना
२०८०/८१ – १,२८८ जना
२०८१/८२ – १,२६१ जना
निर्देशनालयका अनुसार आर्थिक, सामाजिक, पारिवारिक, शैक्षिक तथा मनोवैज्ञानिक दबाबसँगै समयमै उपचार नपाउँदा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको छ । २०८०/८१मा विष सेवन गरेर आत्महत्या गर्नेको संख्या १८२ पुगेको थियो । तीमध्ये सिराहामा ३८, सप्तरीमा ३१, बारामा २९, धनुषामा २४, रौतहटमा १९, पर्सामा १८, महोत्तरीमा १२ र सर्लाहीमा ११ घटना भएका थिए ।
त्यसै वर्ष झुण्डिएर आत्महत्या गर्नेको संख्या १,१०६ पुगेको थियो । रौतहटमा ३६, सर्लाहीमा ३३, बारामा ३१, धनुषामा ३०, सिराहामा २६, महोत्तरीमा १९, पर्सामा १३ र सप्तरीमा ११ घटना अभिलेख गरिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
६४ लाख जनसंख्याका लागि करिब १० जना मनोचिकित्सक
स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेका अनुसार करिब ६४ लाख जनसंख्या रहेको मधेश प्रदेशमा मानसिक रोग विशेषज्ञ (मनोचिकित्सक) करिब १० जना मात्रै छन् । उनका अनुसार मानसिक रोगको उपचारका लागि आवश्यक औषधि खरिद गरी स्वास्थ्य संस्थामा आपूर्ति गरिएको छ । साथै, सामी कार्यक्रमअन्तर्गत १३६ स्थानीय तहमध्ये ९३ स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा विस्तार गरिएको छ । मनोपरामर्शदाताको अभाव पूर्ति गर्न ६ महिनाको तालिमसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए ।उनका अनुसार सेवा विस्तारको प्रयास भइरहे पनि दक्ष जनशक्तिको अभाव नै सबैभन्दा ठूलो चुनौती बनेको छ ।
किशोरदेखि वयस्कसम्म मानसिक समस्या
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण–२०७७ अनुसार १३ देखि १७ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोरकिशोरीमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या देखिएको छ । सर्वेक्षणअनुसार २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसन र ३.९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच रहेको पाइएको छ । वयस्कमध्ये ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस तथा ७.२ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच रहेको उल्लेख गरिएको छ । नेपालमा कुल नसर्ने रोगको भारमध्ये करिब १८ प्रतिशत हिस्सा मानसिक रोगले ओगटेको तथ्याङ्कले देखाउँछ ।
परामर्श खोज्नेको संख्या बढ्दो
मनोवैज्ञानिक परामर्शदाता युगाल किशोर यादवका अनुसार पछिल्ला वर्षमा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श लिन आउनेको संख्या उल्लेखनीय रूपमा बढेको छ । उनका अनुसार किशोरकिशोरीदेखि वयस्कसम्म मानसिक तनाव, चिन्ता, आत्मविश्वासको कमी, पारिवारिक विवाद, अध्ययन तथा रोजगारीको दबाबका कारण परामर्श खोज्नेहरू बढिरहेका छन् । तर अधिकांशले लामो समयसम्म समस्या लुकाउने भएकाले अवस्था जटिल भएपछि मात्रै उपचार खोज्ने गरेका छन् ।
उचित परामर्श, परिवारको साथ र आवश्यक परे विशेषज्ञ उपचार पाए अधिकांश बिरामीको अवस्थामा सुधार आउने उनले बताए । ‘मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी होइन । ज्वरो वा अन्य शारीरिक रोगजस्तै यसको पनि समयमै पहिचान र उपचार आवश्यक हुन्छ । तर अझै पनि धेरै परिवारले मानसिक रोगलाई देवता, भूतप्रेत वा झाँक्रीसँग जोडेर हेर्ने प्रवृत्ति कायम छ,’ यादवले भने ।
ढिलो उपचारले बढ्दै जटिलता
प्रादेशिक अस्पताल जनकपुरधामका मनोचिकित्सक डा. तेजनारायण महतोका अनुसार अस्पतालमा दैनिक ३० देखि ३५ जना मानसिक स्वास्थ्यसम्बन्धी बिरामी उपचारका लागि आउने गरेका छन् । उनका अनुसार पछिल्ला केही वर्षयता चिन्ता, डिप्रेसन, अनिद्रा, अत्यधिक तनाव तथा लागूऔषधको असरका कारण मानसिक समस्या लिएर आउने बिरामीको संख्या बढेको छ ।
‘धेरै बिरामी उपचारका लागि निकै ढिलो आउँछन् । अझै पनि मानसिक रोगलाई लुकाउनुपर्ने वा सामाजिक लाञ्छनाको विषय मान्ने प्रवृत्ति कायमै छ । बच्चादेखि वृद्धसम्मका बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भने । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. मुक्तिनारायण साहका अनुसार प्रदेशभर मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने काम अघि बढाइएको छ । उनका अनुसार प्रदेशमा रहेका १,३५३ स्वास्थ्य संस्थामा मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने योजना रहेको छ । स्वास्थ्य निर्देशनालयको समन्वयमा मनोपरामर्श तथा मानसिक रोग पहिचानसम्बन्धी तालिम सञ्चालन भइरहेको छ ।
‘मानसिक रोगका औषधि खरिद गरिसकेका छौं । छिट्टै निःशुल्क वितरण गर्ने तयारी छ । धेरै बिरामी परामर्शबाटै सुधार हुन्छन् । औषधि आवश्यक परेकालाई निःशुल्क उपलब्ध गराइनेछ । आगामी दिनमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीका लागि पनि आवश्यक पूर्वतयारी भइरहेको छ,’ उनले बताए ।







प्रतिक्रिया दिनुहोस् !