वीरगंज (पर्सा), १८ असार । पर्साको जगरनाथपुर गाउँपालिकाले विद्यालयको शिक्षा व्यवस्थापन सूचना प्रणाली (ई.एम.आई.एस.) को प्रभावकारी कार्यान्वयनका लागि दुईदिने क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न गरेको छ ।
शिक्षा शाखाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा गाउँपालिकाभित्रका २८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा ई.एम.आई.एस. फोकल शिक्षक सहभागी भएका थिए । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीमा आयोजित प्रशिक्षण कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष बविता सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामाधेश चौहानलगायतको उपस्थिति रहेको थियो ।
प्रशिक्षक राजाराम साहले विद्यालयका शैक्षिक, आर्थिक, भौतिक तथा अन्य प्रशासनिक गतिविधिसम्बन्धी विवरण ई.एम.आई.एस. प्रणालीमार्फत अनलाइनमा प्रविष्टि गर्ने, नियमित रूपमा अद्यावधिक गर्ने तथा तथ्याङ्कलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने विषयमा सहभागीहरूलाई व्यावहारिक प्रशिक्षण दिएका थिए । उनले विद्यालयको तथ्याङ्क समयमै र यथार्थपरक रूपमा ई.एम.आई.एस. मा अद्यावधिक गर्न सके शिक्षा क्षेत्रको योजना निर्माण, अनुगमन, मूल्याङ्कन तथा नीतिगत निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे ।
प्रशिक्षणमा सहभागी प्रधानाध्यापक तथा फोकल शिक्षकहरूले ई.एम.आई.एस. प्रणालीको प्रभावकारी प्रयोग, तथ्याङ्क व्यवस्थापन र नियमित अद्यावधिकसम्बन्धी व्यावहारिक ज्ञान हासिल भएको प्रतिक्रिया दिएका छन् । गाउँपालिकाको शिक्षा शाखाले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले विद्यालयको सूचना व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री तथा तथ्यमा आधारित बनाउँदै शिक्षा प्रशासनको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।







प्रतिक्रिया दिनुहोस् !