वीरगंज (पर्सा), १५ असार । वीरगंजको चिल्ड्रेन पार्क तथा शंखघर–शाख्वा पार्कमा खुलेआम रक्सी र चुरोट विक्री भइरहेको पार्कमा पुगेका यात्रुहरूले बताएकाछन् । बालबालिकाले खेल्ने, परिवारले मनोरञ्जन गर्ने तथा सर्वसाधारणले स्वस्थ वातावरणमा समय बिताउने उद्देश्यले वीरगंज महानगरपालिकाले स्थापना गरेको चिल्ड्रेन पार्क भित्र बियर, रक्सी, हुक्का र चुरोटको खुलेआम बिक्रीले महानगरबासीलाई चिन्तीत बनाएको छ ।
चिलड्रेन पार्क निर्माणको अवधारणा पत्रमा बालबालिकाको स्वास्थ्य तथा स्वास्च्छताका लागि पार्क निर्माणको कुरा स्पष्ट छ । यस विचमा बालबालिकाको आकर्षण पार्क प्रति हवात्तै बढेको थियो । बालबालिका र आधिभावक समेत पुग्ने उक्त पार्कमा फास्टफुड बाहेक मदिरा नै विक्री गर्न थाले पछि नशाको लतमा गलत मनसायका समुहको प्रवेश सहज भएको छ ।
हुक्का मदिरा र चुरोटको विक्रीसंगै आफ्ना बालबालिकालाई पार्कमा लान असुरक्षित महसुस हुन थालेको अभिभावकहरूले बताएका छन् । बालबालिकाको पार्कभित्र चुरोट रक्सी बेच्ने अनुमति नभए पनि अवैध लेनदेनमा महानगर र अधिकार प्राप्त नेपाल सरकारका इकाइहरू मुक दर्शक बनिरहेकोे समाचार स्रोतको दावी छ ।
यस सम्बन्धमा वीरगंज महानगरका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले चिल्ड्रेन पार्क भित्र बालबालिकाको हित अनुकुलका खाजा घर संचालन बाहेक सुर्ति तथा मदिरा जन्य पदार्थ विक्री वितरणको अनुमति नदिएको बताएका छन् । त्यसो गरिएको छ भने कारवाही हुने उनले बताए । छानविन र कडा कारवाही हुनुपर्ने महानगरबासीको माग छ ।
यदि पार्कमा चमेनागृह सञ्चालन गर्नुको उद्देश्य परिवार र बालबालिकालाई सेवा दिनु हो भने, त्यही स्थानमा मदिरा र चुरोट बिक्री हुनु कति उचित हो ? यसले पार्कको वातावरण मात्र होइन, बालबालिकाको मानसिक विकास र सार्वजनिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्न सक्छ । सम्बन्धित निकाय, बीरगंज महानगरपालिका तथा सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदै पार्कलाई यसको वास्तविक उद्देश्यअनुसार सुरक्षित, स्वच्छ र बालमैत्री बनाउन आवश्यक कदम चाल्न नागरिक अगुवाहरूको आग्रह गरेका छन ।







प्रतिक्रिया दिनुहोस् !