वीरगंज (पर्सा), १० असार । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगर प्रमुख राजेशमानसिंह निलम्बनमा रहेकाले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेका उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा सम्पन्न २०औँ नगरसभामा वडा नं. ४ का अध्यक्ष जगतप्रसाद कानुले बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ छुट्याइएको छ ।
महानगरले बजेटका लागि विभिन्न स्रोत पहिचान गरेको छ । संघीय सरकारबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने राजस्व बाँडफाँडबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ आउने अपेक्षा गरिएको छ । त्यसैगरी प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ लाख २८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ७६ लाख १४ हजार रुपैयाँ तथा घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । महानगरले आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने गत वर्षको मौज्दात रकम ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ र नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यवस्थापन गर्ने जनाएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममा महानगरले पूर्वाधार विकास, आर्थिक समृद्धि, सामाजिक क्षेत्रको सुदृढीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ । कार्यवाहक प्रमुख आलमले वीरगंजलाई डिजिटल प्रविधिमा आधारित, सुशासनयुक्त, नागरिकमैत्री सेवा प्रणाली भएको, हरित तथा दिगो सहरी संरचनायुक्त, लगानी र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताए ।
उनका अनुसार दिगो विकास लक्ष्यलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आधुनिक र गुणस्तरीय सहरी पूर्वाधार निर्माण, व्यवस्थित बस्ती विकास, शिक्षा तथा स्वास्थ्य सेवाको स्तर उकास्ने कार्यक्रम अघि बढाइनेछ । कृषि तथा उद्यम विकास, लगानी र पर्यटन प्रवद्र्धन, सामाजिक सुरक्षा, समावेशी विकास तथा वातावरण संरक्षणलाई पनि उच्च प्राथमिकता दिइएको छ ।
महानगरले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री प्रशासन, प्रक्रियागत सुधार, नागरिक सहभागितामा आधारित विकास व्यवस्थापन तथा सार्वजनिक स्रोत–साधनको पारदर्शी र परिणाममुखी परिचालनमा विशेष जोड दिएको छ । साथै आन्तरिक आय वृद्धि गरी आर्थिक आत्मनिर्भरता सुदृढ गर्ने लक्ष्यसमेत लिइएको छ ।
कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउन आधुनिक प्रविधिको प्रयोग बढाइने नीति महानगरले अघि सारेको छ । मुख्य खाद्यान्न बाली गहुँको उत्पादन वृद्धि गर्न कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउ उपलब्ध गराइनेछ । जलवायु परिवर्तन, रासायनिक मलको अत्यधिक प्रयोग तथा बालीमा देखिने आकस्मिक रोग–कीरा नियन्त्रणका लागि ‘आकस्मिक बाली संरक्षण कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।
त्यसैगरी कृषकलाई नवीन प्रविधिसँग जोड्न वर्षे तथा हिउँदे मिनीकिट वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ भने सहरी क्षेत्रमा च्याउ खेती विस्तार गर्न च्याउको बीउ वितरणलाई प्राथमिकता दिइने जनाइएको छ । शिक्षा क्षेत्रतर्फ महानगरले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी भर्नादर शतप्रतिशत पुर्याउन समन्वय, सहकार्य, अनुगमन र मूल्याङ्कनलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
महानगरको नयाँ बजेट र नीति तथा कार्यक्रमले पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, डिजिटल प्रशासन र सुशासनमार्फत वीरगंजलाई आधुनिक तथा आर्थिक रूपमा सबल महानगरका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गरेको छ ।









प्रतिक्रिया दिनुहोस् !