वीरगंज (पर्सा), ५ असार । नेपाल प्रहरीमा तीन दशक लामो सेवा पूरा गरी अवकाश प्राप्त गरेका प्रहरी नायब निरीक्षक (सई) दिलीपकुमार दासलाई वीरगंजस्थित नेपाल प्रहरी प्रदेश कार्यालयले घोडा चढाएर विशेष सम्मानसहित बिदाइ गरेको छ । शुक्रबार आयोजित बिदाइ समारोहमा अवकाशप्राप्त सई दासलाई परम्परागत सम्मानको प्रतीकस्वरूप घोडामा सवार गराई कार्यालय परिसरबाट विदाइ गरिएको थियो ।
नेपाल प्रहरी प्रदेश कार्यालयले लामो सेवायात्रामा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मानपूर्वक बिदाइ गरेको जनाएको छ । प्रदेश कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णबहादुर पाली मगरले संगठनमा समर्पित भावनाका साथ सेवा गरेका प्रहरी कर्मचारीलाई विशेष सम्मान प्रदान गर्ने उद्देश्यले सहकर्मीहरूको सुझावअनुसार यस्तो बिदाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार यस्ता सम्मानजनक कार्यक्रमले कार्यरत प्रहरी कर्मचारीमा सकारात्मक ऊर्जा, कर्तव्यप्रतिको समर्पण र सेवाप्रतिको उत्तरदायित्व अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । सेवाकालभरि इमान्दारी, अनुशासन र निष्ठापूर्वक काम गर्ने प्रहरी कर्मचारीका लागि यसले प्रेरणादायी सन्देश प्रवाह गर्ने एसएसपी मगरको भनाइ छ ।
लामो समयसम्म नेपाल प्रहरी संगठनमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरेका सई दासको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई सम्मानसहित बिदाइ गरिएको कार्यालयले जनाएको छ । बिदाइ कार्यक्रममा प्रहरी अधिकृत, जवान तथा प्रदेश कार्यालयमा कार्यरत अन्य सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस् !