वीरगंज (पर्सा), ५ असार । पर्साको जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० करोड ८३ लाख रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । गाउँपालिकाको १७औँ गाउँसभाले विकास र सेवा प्रवाहलाई केन्द्रमा राख्दै उक्त बजेट अनुमोदन गरेको हो । गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँसभामा अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
प्रस्तुत बजेटअनुसार शिक्षा क्षेत्रको विकासका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ भने स्वास्थ्य क्षेत्रमा १ करोड रुपैयाँ छुट्याइएको छ । कृषि क्षेत्रको प्रवद्र्धनका लागि १ करोड ५० लाख रुपैयाँ र सामाजिक विकास कार्यक्रम सञ्चालनका लागि पनि १ करोड ५० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिँदै ५ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अमित गिरीका अनुसार अध्यक्षस्तरीय योजनाका लागि ६० लाख रुपैयाँ, उपाध्यक्ष कार्यक्रमका लागि ६० लाख रुपैयाँ तथा प्रत्येक वडाका योजनाका लागि ६० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । कार्यपालिकास्तरीय योजनाका लागि भने २० लाख रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।
गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष अनोज चौधरीले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रलाई विकासको मुख्य आधार मानेर बजेट तथा कार्यक्रम तयार गरिएको बताए । उनले स्थानीय आवश्यकताअनुसार विकासका कार्यक्रम सञ्चालन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र जनअपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उपाध्यक्ष रेखा चौधरीले महिला, बालबालिका, किसान तथा आर्थिक रूपमा विपन्न समुदायको जीवनस्तर उकास्न बजेटले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत गिरीले पारदर्शिता, सुशासन र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर सबै योजना निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का नीति, कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफल गरी प्राप्त सुझावहरू समेटेर अन्ततः अनुमोदन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !