वीरगंज (पर्सा), ३ जेठ । लिटिल बड्डी प्रि–स्कुलमा आइतबार आयोजित निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बालबालिका तथा शिक्षक–कर्मचारीको आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले शिविर आयोजना गरेको हो । वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विद्यालयका १४० जना विद्यार्थी, उनीहरूका परिवारका सदस्य तथा १५ जना शिक्षक–कर्मचारीको आँखा परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक विजय कुमार बलले जानकारी दिए ।
शिविरमा अतिथिका रूपमा राहुल श्रीवास्तव, कमल चौगाईं, पत्रकार जगत राई तथा दिपु कुमार वर्णवालको उपस्थिति रहेको थियो । उनका अनुसार नियमित स्वास्थ्य परीक्षणले विद्यार्थीको समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वासका साथ विद्यालयले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । शिविरमा नेत्रचिकित्सक महेश सिंह धामी, प्रभात चौरसिया तथा नेत्र सहायकहरू मनोज पटेल र सृष्टि चौधरी को सक्रिय सहभागिता रहेको थियो ।
चिकित्सक टोलीले प्रत्येक बालबालिकाको दृष्टि परीक्षण गरी आवश्यक परामर्श तथा सुझाव दिएको जनाएको छ । प्रभात चौरसियाका अनुसार बाल्यकालमै दृष्टि समस्या पहिचान भएमा समयमै उपचार गर्न सकिने भएकाले दीर्घकालीन समस्या न्यूनीकरण गर्न मद्दत पुग्छ । परीक्षणका क्रममा केही विद्यार्थीमा सामान्य दृष्टि कमजोरी देखिएको र थप उपचारका लागि अभिभावकलाई सुझाव दिइएको बताए ।
विद्यालयका प्रधानाध्यापक विजय कुमार बलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने चिकित्सक टोली, शिक्षक, अभिभावक तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
विद्यालयका अनुसार यस्ता स्वास्थ्य शिविरले बालबालिकामा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै अभिभावक र शिक्षकलाई समयमै स्वास्थ्य परीक्षणप्रति प्रेरित गर्ने विश्वास गरिएको छ । साथै, वीरगंज सामुदायिक आँखा अस्पतालले विद्यालयका विद्यार्थी तथा अभिभावकका लागि चस्मामा २५ प्रतिशत छुट तथा आवश्यक परे निःशुल्क शल्यक्रिया (अपरेशन) सेवा उपलब्ध गराउने जनाएको छ । 








प्रतिक्रिया दिनुहोस् !