जनकपुर (धनुषा), २९ वैशाख । मधेश प्रदेशमा बढ्दो कुपोषण समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले ‘मधेश प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३’ मंगलबारदेखि सुरु भएको छ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय धनुषा, सपहीद्वारा आयोजित तीनदिने सम्मेलन धनुषाको लालगढस्थित होटेल गौतममा वैशाख २९ देखि ३१ गतेसम्म सञ्चालन हुने भएको छ ।
स्वास्थ्य निर्देशनालय धनुषा, सपहीका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षता तथा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा पूर्व निर्देशक डा. विजय कुमार झासहित स्वास्थ्य क्षेत्रका विज्ञ, पोषणविद्, सरकारी अधिकारी, प्रादेशिक अस्पताल प्रमुख तथा आठवटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशमा पर्याप्त खाद्यान्न उत्पादन हुँदाहुँदै पनि पोषणयुक्त खानाको सही प्रयोग, सन्तुलित आहारसम्बन्धी चेतनाको अभाव तथा बदलिँदो खानपान संस्कारका कारण कुपोषणको समस्या गम्भीर बनेको बताए । उनले प्रत्येक घरको भान्साघर व्यवस्थित बनाउन सके कुपोषण न्यूनीकरणमा उल्लेखनीय सुधार ल्याउन सकिने धारणा व्यक्त गर्दै स्थानीयस्तरमै उपलब्ध पोषणयुक्त खाद्यान्नको पहिचान र प्रयोगबारे जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याँए ।
मुख्यमन्त्री यादवले गृहिणी तथा समुदायस्तरका महिलालाई पोषणसम्बन्धी व्यवहारिक तालिम प्रदान गर्नुपर्नेमा जोड दिँदै स्वस्थ समाज निर्माणका लागि पोषणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले सम्मेलनले मधेश प्रदेशमा देखिएको पुड्कोपन, ख्याउटेपन तथा रक्तअल्पता जस्ता समस्याको न्यूनीकरणका लागि ठोस रणनीति तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पोषण सुधारलाई प्रदेश सरकारको प्राथमिक स्वास्थ्य एजेण्डाका रूपमा अघि बढाइएको जानकारी दिए ।
स्वास्थ्य निर्देशनालयका अनुसार सम्मेलनमा पोषण नीति, मातृ तथा शिशु स्वास्थ्य, समुदायस्तरको पोषण अवस्था, स्थानीय खाद्य प्रणाली, पोषणमैत्री कार्यक्रम कार्यान्वयन तथा कुपोषण न्यूनीकरणका उपायबारे विशेषज्ञबीच गहन छलफल भइरहेको छ । सम्मेलनबाट प्राप्त सुझावका आधारमा मधेश प्रदेशको आगामी पोषण रणनीति तय गरिने जनाइएको छ ।
मधेश प्रदेशमा विशेषगरी बालबालिका तथा गर्भवती महिलामा कुपोषण, रक्तअल्पता र न्यून पोषणको समस्या अन्य प्रदेशको तुलनामा बढी देखिएकाले व्यवहारिक र प्रभावकारी समाधान खोज्न नीति संवादमार्फत सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !