नेपाल सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनतर्फ संकेत गरिरहेको छ । सतहमा हेर्दा यो निर्णय आधुनिक कार्यसंस्कृति, कर्मचारीको मानसिक स्वास्थ्य र पारिवारिक समयलाई प्राथमिकता दिने सकारात्मक कदमजस्तो देखिन सक्छ । तर नेपालजस्तो कमजोर शैक्षिक संरचना भएको मुलुकमा यही निर्णयले सबैभन्दा ठूलो चोट विद्यालय शिक्षामा पुग्ने खतरा बढेको छ । प्रश्न कर्मचारीले दुई दिन आराम पाउने कि नपाउने मात्र होइन, प्रश्न त विद्यालय बन्द हुँदा बालबालिकाको भविष्य कति सुरक्षित रहन्छ भन्ने हो ।
नेपालमा वर्षमा ३६५ दिन हुन्छन् । यदि हप्तामा दुई दिन नियमित बिदा लागू गरियो भने वर्षको १०४ दिन विद्यालय स्वतः बन्द हुन्छ । त्यसमा दशैं, तिहार, छठ, होली, विभिन्न स्थानीय पर्व, सार्वजनिक बिदा, गर्मी र जाडो बिदा, परीक्षा, नतिजा प्रकाशन, शिक्षक तालिम तथा अन्य प्रशासनिक बन्द जोड्दा विद्यालय सञ्चालन अवधि झन्डै आधा वर्षमा सीमित हुने अवस्था आउँछ । अर्थात् नेपाली विद्यार्थीले वर्षको ठूलो हिस्सा विद्यालयबाहिर बिताउनुपर्ने हुन्छ । यस्तो अवस्था शिक्षामा संघर्षरत देशका लागि अत्यन्तै चिन्ताजनक संकेत हो ।
विकसित देशहरूमा दुई दिने बिदा सफल हुनुको कारण त्यहाँको बलियो शैक्षिक र सामाजिक संरचना हो । घरमै अध्ययन गर्ने संस्कृति, पुस्तकालयको पहुँच, डिजिटल सामग्री, अभिभावकीय निगरानी र स्वअध्ययन प्रणाली त्यहाँ विकसित छ । तर नेपालमा अवस्था पूर्णतः फरक छ । यहाँ लाखौं बालबालिकाका लागि विद्यालय नै सिकाइको एकमात्र आधार हो । विशेषगरी सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू विद्यालय बाहिर पुग्नेबित्तिकै पढाइबाट टाढा हुने जोखिममा पर्छन् ।
कोभिड–१९ महामारीको अनुभवले नेपाललाई एउटा स्पष्ट सन्देश दिइसकेको छ लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीहरूको सिकाइ क्षमता गम्भीर रूपमा कमजोर हुन्छ । धेरै बालबालिकाले पढ्न, लेख्न र सामान्य गणितीय सीपसमेत गुमाएका थिए । अहिले फेरि नियमित रूपमा विद्यालय बन्द हुने अवस्था सिर्जना गर्नु भनेको त्यही गल्ती दोहोर्याउनु हो । विशेषगरी कक्षा १ देखि ५ सम्मका बालबालिकामा नियमित अभ्यास नहुँदा सिकेको कुरा छिट्टै बिर्सिने खतरा उच्च हुन्छ । प्रारम्भिक तहमा कमजोर भएको सिकाइ भविष्यभर असर गर्ने तथ्यलाई राज्यले नजरअन्दाज गर्न मिल्दैन ।
अर्कोतर्फ, विद्यालय बन्द हुँदा बालबालिकाको जीवन मोबाइल र स्क्रिनमा सीमित हुने जोखिम तीव्र रूपमा बढिरहेको छ । अहिले नै अभिभावक र शिक्षकहरू विद्यार्थीको ध्यान केन्द्रित गर्ने क्षमता कमजोर बन्दै गएको गुनासो गरिरहेका छन् । मोबाइल गेम, टिकटक, युट्युब र सामाजिक सञ्जालले बालबालिकाको समय, सोच र व्यवहार कब्जा गरिरहेको छ । दुई दिने बिदाले यही प्रवृत्तिलाई अझ प्रोत्साहन गर्न सक्छ । सानो उमेरमा अत्यधिक स्क्रिन प्रयोगले मानसिक चिडचिडापन, निद्राको समस्या, सामाजिक अलगाव र पढाइप्रतिको अरुचि बढाउने खतरा हुन्छ । विद्यालय बन्द हुँदा बालबालिकाले सिर्जनात्मक गतिविधिभन्दा डिजिटल लतमा समय बिताउने सम्भावना बढी देखिन्छ ।
विद्यालय केवल पाठ्यपुस्तक पढाउने संस्था मात्र होइन । विद्यालय समाज निर्माण गर्ने आधार हो । त्यहीँ बालबालिकाले अनुशासन, समयको मूल्य, सहकार्य, नेतृत्व, प्रतिस्पर्धा र सामाजिक व्यवहार सिक्छन् । तर लामो बिदाले उनीहरूको दैनिक जीवनशैली नै अस्तव्यस्त बनाउन सक्छ । बिहान ढिलो उठ्ने, रातभर मोबाइल चलाउने, खेलकुद र शारीरिक गतिविधि घट्ने तथा पढ्ने बानी हराउने समस्या बढ्न सक्छ । विद्यालय पुनः खुल्दा पुरानै लयमा फर्कन कठिन हुने शिक्षकहरूको अनुभव छ ।
सबैभन्दा पीडादायी असर आर्थिक रूपमा कमजोर परिवारका बालबालिकामा पर्ने निश्चित देखिन्छ । सम्पन्न परिवारले आफ्ना छोराछोरीलाई ट्युसन, अतिरिक्त कक्षा, अनलाइन सामग्री र सिर्जनात्मक कार्यक्रममा व्यस्त राख्न सक्छन् । तर ग्रामीण र गरिब परिवारका बालबालिका भने खेतबारी, मजदुरी, घरायसी काम वा अन्य श्रममा धकेलिन सक्छन् । यसले शैक्षिक असमानता झन् गहिरो बनाउनेछ । शिक्षा अधिकारकर्मीहरूले चेतावनी दिएका छन् ‘विद्यालय लामो समय बन्द हुँदा बालश्रम, विद्यालय छोड्ने दर र बालविवाहको जोखिमसमेत बढ्न सक्छ ।’
सरकारले यदि दुई दिने बिदा लागू गर्ने निर्णयमा अघि बढ्ने हो भने त्यसअघि विद्यालय प्रणालीलाई पुनर्संरचना गर्नैपर्छ । विद्यालय समय बढाउने, पाठ्यक्रम परिमार्जन गर्ने, अतिरिक्त सिकाइ कार्यक्रम सञ्चालन गर्ने, गृहकार्य प्रणाली प्रभावकारी बनाउने र डिजिटल शिक्षामा समान पहुँच सुनिश्चित गर्ने तयारीबिना गरिएको निर्णय केवल लोकप्रियता कमाउने प्रयास मात्र बन्न सक्छ ।
आज नेपालमा शिक्षा क्षेत्र पहिले नै शिक्षक अभाव, कमजोर पूर्वाधार, घट्दो गुणस्तर र कमजोर सिकाइ उपलब्धिसँग संघर्ष गरिरहेको छ । यस्तो बेला अत्यधिक बिदामुखी शैक्षिक क्यालेन्डर थप संकट निम्त्याउने खतरा स्पष्ट देखिन्छ । बालबालिकाको भविष्य कुनै प्रयोगशाला होइन, जहाँ राज्यले अपरिपक्व निर्णयको परीक्षण गरिरहोस् । दुई दिने बिदाको बहस अघि बढाउनुभन्दा पहिले सरकारले एउटा गम्भीर प्रश्नको उत्तर दिनुपर्छ विद्यालय बन्द हुँदा नेपाली बालबालिकाको भविष्य कसरी सुरक्षित हुन्छ ?









प्रतिक्रिया दिनुहोस् !