वीरगंज (पर्सा), २० वैशाख । सूचना तथा सञ्चार प्रविधि दिवस–२०८३ को अवसर पारेर ‘सूचना प्रविधिको विस्तारः दिगो विकासको आधार’ भन्ने मूल नारासहित वीरगंजमा एकदिने साइबर सुरक्षा तालिम तथा कार्यशाला सफलतापूर्वक सम्पन्न गरिएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ, पर्सा जिल्ला शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा पछिल्ला दिनमा बढ्दो साइबर अपराध, अनलाइन ठगी तथा डिजिटल सुरक्षासम्बन्धी जोखिमहरूबारे केन्द्रित रही सहभागीहरूलाई व्यावहारिक प्रशिक्षण दिइएको थियो ।
कार्यक्रम क्यान महासंघ पर्साका अध्यक्ष गणेश कुमारको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा प्रशान्त कुमारको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रतिक्षा अधिकारीले गरेकी थिइन् । कार्यक्रममा सूरज पटेल, रोशनी लामिछाने, प्रविण राज भण्डारी, राजेश थापा, निरञ्जन केशरी र प्रदीप कर्णलगायतको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालाका वक्ताहरूले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग तीव्र गतिमा विस्तार भइरहेका बेला साइबर सुरक्षासम्बन्धी ज्ञान र जनचेतना अत्यन्त आवश्यक भएकोमा जोड दिएका थिए । उनीहरूले व्यक्तिगत तथा संस्थागत सूचनाको सुरक्षा सुनिश्चित गर्न आवश्यक सावधानी अपनाउन र अनलाइन गतिविधिमा सधैं सचेत रहन आग्रह गरेका थिए ।
कार्यक्रम सफल बनाउन नेपाल डिजिटल एजुकेशन (एन.डि.ई.) र डायनामिक टेक्नोसफ्टले सहकार्य गर्दै सहयोगी संस्थाका रूपमा योगदान दिएका थिए ।







प्रतिक्रिया दिनुहोस् !