वीरगंज (पर्सा), १० वैशाख । वीरगंज नाकाबाट हुनसक्ने विदेशी नागरिकको अवैध प्रवेशलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले बिहीबारदेखि निगरानी कडा बनाएका छन् । भारतसँग खुला सीमा जोडिएको यस प्रमुख नाकाबाट विभिन्न उद्देश्यका साथ विदेशी नागरिकको सम्भावित घुसपैठ रोक्ने उद्देश्यले सुरक्षा जाँचलाई थप सुदृढ गरिएको हो ।
भारतबाट नेपाल भित्रिने मुख्य प्रवेश बिन्दु शंकराचार्य प्रवेशद्वारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अध्यागमन कार्यालयका कर्मचारी सम्मिलित संयुक्त टोली परिचालन गरिएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार राष्ट्रिय सुरक्षा सुदृढ बनाउन विदेशी यात्रुहरूको विशेष निगरानी सुरु गरिएको हो ।
संयुक्त टोलीले नाकामै विदेशी नागरिकको पासपोर्ट र भिसा जाँच गर्नुका साथै उनीहरूको सम्पर्क नम्बरलगायत विस्तृत विवरण संकलन गरी अभिलेख राख्ने काम गरिरहेको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सञ्चालन गरिएको यस अभियानमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय बासिन्दालाई अपिल समेत गरेको छ ।
जिल्ला प्रशासनले सूचना जारी गर्दै आफ्नो गाउँ, टोल वा व्यवसायिक स्थल (होटल, लज) मा कुनै विदेशी नागरिक शंकास्पद अवस्थामा देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ । साथै, नाकामा खटिएका सुरक्षाकर्मीलाई विवरण संकलनमा सहयोग गर्न र अवैध रूपमा सीमा पार गर्ने वा गराउने गतिविधि देखिए नडराई सूचना दिन पनि अनुरोध गरिएको छ ।
यसअघि बुधबार विश्व हिन्दू परिषद् नेपालले बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२४ हरपुरमा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’लाई लक्षित गर्दै विशेष सतर्कता अपनाउन माग गरेको थियो । परिषद्ले विशेषगरी बंगलादेश र म्यानमारबाट रोहिङ्ग्या समुदायका व्यक्तिहरू अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने सम्भावनाबारे ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको थियो ।
उक्त भेलामा पाकिस्तान, बंगलादेशलगायतका देशबाट सहभागी आउने तयारी रहेको सूचनाका आधारमा धार्मिक कार्यक्रमको आवरणमा विदेशीहरूको अवैध प्रवेश हुन सक्ने र त्यसले सुरक्षा चुनौती निम्त्याउन सक्ने चिन्ता परिषद्ले व्यक्त गरेको थियो । त्यसै सन्दर्भमा सीमा नाकामा निगरानी र सुरक्षा जाँचमा कडाइ गरिएको प्रशासनले जनाएको छ । 







प्रतिक्रिया दिनुहोस् !