वीरगंज (पर्सा), ८ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रबाट लागुऔषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । नियमित चेकजाँचका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
मंगलबार साँझ करिब ८ः२० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यात्रु तथा सवारी साधनहरूको चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले शंका लागेर केही व्यक्तिलाई रोकी खानतलासी गरेको थियो । सो क्रममा उनीहरूले शरीरको पेट र छाती भागमा लुकाएर ल्याएको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार पश्चिम चम्पारण जिल्ला बेतिया नगर निगम–१३ बस्ने ३४ वर्षीय सर्फ अख्तर, पर्साको पथलैया–९ बस्ने ३३ वर्षीय विजय ठाकुर, वीरगंज–३३ बस्ने ३० वर्षीय भूमिक मियाँ र प्रसौनी गाउँपालिका–५ बस्ने २८ वर्षीय महेन्द्र पासवान रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट प्लास्टिकमा बेरेर लुकाइएको ६ केजी १८ ग्राम गाँजा बरामद गरिएको छ । पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई अझ कडाइ गर्ने जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !