वीरगंज (पर्सा), ४ फागुन । जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानी यतिबेला विकास, समृद्धि र स्वाभिमानको मूल एजेन्डासहित चुनावी मैदानमा सक्रिय देखिएका छन् । घरदैलो, टोलसभा, अन्तरक्रिया तथा कोणसभामार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले पर्सा–२ लाई आर्थिक, शैक्षिक, कृषि, स्वास्थ्य र पूर्वाधार विकासका दृष्टिले देशकै नमूना क्षेत्र बनाउने स्पष्ट खाका प्रस्तुत गरेका छन् ।
टेमानीले वीरगंजको भौगोलिक अवस्थिति, खुला सिमाना र व्यापारिक सम्भावनालाई आधार मानेर यस क्षेत्रलाई देशकै प्रमुख आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेका छन् । उनका अनुसार उद्योग, व्यापार र लगानी प्रवद्र्धनका लागि नीतिगत सुधार, प्रशासनिक सहजीकरण र पूर्वाधार विस्तार अपरिहार्य छ । ‘पर्सा–२ लाई उत्पादन र रोजगारीको केन्द्र बनाइनेछ,’ उनले अभियानका क्रममा दोहोर्याउँदै आएका छन् ।
कृषि क्षेत्रको आधुनिकीकरण टेमानीको प्रमुख प्राथमिकतामध्ये एक हो । किसानलाई समयमै मल, बीउ, सिँचाइ र प्राविधिक सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने उनले बताएका छन् । कृषि उपजको भण्डारणका लागि कोल्ड स्टोर निर्माण, बजार व्यवस्थापन र स्थानीय उत्पादनको ब्रान्डिङमार्फत मूल्य अभिवृद्धि गरिने योजना सार्वजनिक गरिएको छ । कृषि उत्पादनसँगै प्रशोधन उद्योग स्थापना गरी युवालाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउने अवधारणा पनि उनको प्रतिबद्धतामा समेटिएको छ ।
युवा स्वरोजगार र उद्यमशीलता प्रवद्र्धनलाई उनले अभियानको केन्द्रमा राखेका छन् । सीपमूलक तालिम, सहुलियत ऋण र स्टार्टअप प्रवद्र्धन कार्यक्रम ल्याइने बताउँदै उनले विदेश पलायन रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सूचना प्रविधि, सेवा क्षेत्र र साना उद्योगमा युवालाई आकर्षित गर्न विशेष कार्यक्रम ल्याइने उनले बताएका छन् । महिला उद्यमशीलता विकास, घरेलु उद्योग विस्तार तथा महिला श्रमिकका लागि सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने लक्ष्यसहित सामुदायिक विद्यालयको पूर्वाधार सुदृढीकरण, शिक्षक तालिम र प्राविधिक शिक्षामा जोड दिइने योजना टेमानीले अघि सारेका छन् । उच्च शिक्षा र अनुसन्धान प्रवद्र्धनका लागि सम्बन्धित निकायसँग सहकार्य गरिने उनले बताएका छन् । स्वास्थ्य सेवामा जिल्लास्तरीय अस्पतालहरूको स्तरोन्नति, ग्रामीण स्वास्थ्य चौकी सुदृढीकरण तथा विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकता दिइने उनको भनाइ छ ।
पूर्वाधार विकासलाई दीर्घकालीन समृद्धिको आधार मान्दै उनले सडक, नाला, ढल र खानेपानी व्यवस्थापनमा तीव्रता दिइने बताएका छन् । ग्रामीण क्षेत्रमा सहज यातायात र बजार पहुँच सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याइनेछ । बाढी तथा डुबान समस्याबाट प्रभावित बस्तीहरूको दीर्घकालीन समाधानका लागि प्रभावकारी योजना कार्यान्वयन गरिने प्रतिबद्धता पनि उनले जनाएका छन् । घरदैलो अभियानका क्रममा टेमानीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र सुझाव संकलन गरिरहेका छन् । मतदाताको उत्साहजनक सहभागिताले अभियानलाई थप ऊर्जा दिएको देखिन्छ । स्थानीयले रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारप्रति देखाएको चासोलाई उनले आफ्नो प्राथमिक कार्यसूचीमा राख्ने बताएका छन् ।
टेमानीको अभियान केवल चुनावी प्रतिस्पर्धामा सीमित नभई दीर्घकालीन विकासको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने प्रयासका रूपमा देखिएको छ । आर्थिक सशक्तीकरण, सामाजिक न्याय र समावेशी विकासलाई मूल आधार बनाउँदै अघि बढेको यो अभियानले पर्सा–२ मा सकारात्मक राजनीतिक बहस सिर्जना गरेको छ । अन्त्यमा उनले मतदातासँग आग्रह गरेका छन्, ‘तपाईंको अमूल्य मत विकास, रोजगारी र समृद्धिको पक्षमा प्रयोग गर्नुहोस् । पर्सा–२ लाई देशकै नमूना क्षेत्र बनाउन सबैको साथ र सहयोग आवश्यक छ ।’








प्रतिक्रिया दिनुहोस् !