वीरगंज (पर्सा), १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले आफूले विगतमा राम्रो काम गरेको उल्लेख गर्दै अन्य नेताहरूले के–कस्ता काम गरेका छन् भन्ने कुरा जनताले अब सोध्नुपर्ने बेला आएको बताएका छन् ।
आफ्ना विपक्षी उम्मेदवारलाई कडा टक्कर दिँदै आएका पूर्वमन्त्रीसमेत रहेका उम्मेदवार यादवले आफूले गरेका कामका आधारमा जनताले फेरि न्याय गर्नेमा आफू विश्वस्त रहेको बताए । शुक्रबार बिहान वीरगंजमा नेकपा एमालेका नेता तथा कार्यकर्तासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रको विकासमा खेलेको भूमिकालाई मतदाताले सराहना गरिरहेको दाबी गरे । सडक, पुलपुलेसा, धर्मशाला, विवाह मण्डप, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा खानेपानी क्षेत्रमा आफूले उल्लेखनीय काम गरेको र त्यसको जनताले खुलेर प्रशंसा गरिरहेको यादवले बताए ।
निर्वाचन आचारसंहिता भित्र रही फागुन ४ गतेदेखि प्रचार–प्रसारका गतिविधि अघि बढाउने तयारीमा रहेको उल्लेख गर्दै उनले यस पटक बाँकी रहेका योजनाहरू पूरा गर्नुका साथै जनतासँग प्रत्यक्ष राय सल्लाह गरी विकासका कामहरू अघि बढाउने प्रतिबद्धता जनाए । साथै संविधान, लोकतन्त्र र मधेशी जनताको हकअधिकारको पक्षमा अडिग रहेर प्रतिनिधिसभामा उपस्थित हुने उनले ठोकुवा गरे ।
आफू नेता नभई जनताको सेवक भएको उल्लेख गर्दै जनताले काम गर्ने अवसर पुनः प्रदान गर्नेमा आफू आशावादी रहेको यादवले जिकिर गरे ।








प्रतिक्रिया दिनुहोस् !