वीरगंज (पर्सा), २९ माघ । पर्सा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रुपेश कुमार पाण्डेले चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै उनले घरदैलो, जनता दर्शन तथा मतदाता भेटघाट कार्यक्रममार्फत व्यापक जनसम्पर्क अभियान अघि बढाएका छन् । यसले स्थानीय तहमा उनको पक्षमा समर्थन बढ्दै गएको संकेत देखिएको छ ।
मतदाताबाट सुनिएको ‘अब भाषण होइन, परिणाम चाहियो’ भन्ने भावनालाई आत्मसात गर्दै पाण्डेले विकास, सुशासन र जवाफदेहितालाई प्राथमिक एजेन्डा बनाएका छन् । प्रत्यक्ष भेटघाटका क्रममा उनले खोक्रा आश्वासनभन्दा काम गरेर देखाउने नेतृत्वको आवश्यकता औंल्याउँदै आफ्नो प्रतिबद्धता व्यक्त गरिरहेका छन् । युवापुस्ताको विश्वास र अग्रजहरूको साथले उनको उम्मेदवारी थप मजबुत बन्दै गएको देखिन्छ ।
बुधबार पकहाँमैनपुर गाउँपालिकामा सम्पन्न घरदैलो तथा जनता दर्शन कार्यक्रममा नेकपा (एमाले) का नेता–कार्यकर्ता र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, सल्लाहकार परिषद् सदस्य शिव पटेल, संविधानसभा सदस्य प्रधुमन चौहान, अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका अध्यक्ष तेजप्रकाश निषाद, उपाध्यक्ष तथा युवा नेता अकलेश कुमार साह, पालिका इन्चार्ज विजय चौरसिया लगायतको सक्रिय उपस्थिति देखिएको थियो ।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सेवा सुधार तथा पूर्वाधार निर्माणमा ठोस पहल आवश्यक रहेको बताएका थिए । उनीहरूले पाण्डेप्रति विश्वास व्यक्त गर्दै परिवर्तनको अपेक्षा राखेका छन् । जनसम्पर्क अभियान तीव्र बन्दै जाँदा पर्सा–३ मा चुनावी माहोल झनै सक्रिय बनेको छ । घरदैलो कार्यक्रमले उम्मेदवार र मतदाताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको देखिन्छ, जसले आगामी निर्वाचनमा प्रभाव पार्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस् !