वीरगंज (पर्सा), १६ माघ । वीरगंजबाट नियमित रूपमा प्रकाशित हुँदै आएको कालिका टाईम्स दैनिक पत्रिकाले आफ्नो छैटौँ वार्षिकोत्सव मानव सेवा आश्रममा मनाएको छ । कालिका टाईम्स प्रालिद्वारा प्रकाशित उक्त दैनिकले पाँच वर्षको यात्रा पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आश्रममा आश्रित व्यक्तिहरूलाई खाजा खुवाउँदै सामाजिक उत्तरदायित्वसहित वार्षिकोत्सव मनाइएको हो ।
डिजिटल युगमा पत्रकारिताबीचको प्रतिस्पर्धा दिनप्रतिदिन तीव्र बन्दै गएको वर्तमान अवस्थामा सत्य, तथ्य र विश्वसनीय समाचार पाठकसमक्ष पुर्याउनु नै कालिका टाईम्सको प्रमुख प्राथमिकता रहेको प्रबन्ध निर्देशक छठु साहले बताएका छन् । उनले भने, ‘यस यात्रामा केही कमजोरीहरू भएका हुन सक्छन्, तर ती कमजोरीलाई स्वीकार गर्दै निरन्तर सुधार गर्ने प्रतिबद्धतासहित समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने हाम्रो प्रयास जारी छ ।’
पत्रिका सञ्चालनका क्रममा आएका विविध चुनौतीलाई सामना गर्दै खोजमूलक, निष्पक्ष र जनमुखी पत्रकारितालाई मूल आधार बनाएर कालिका टाईम्स अगाडि बढिरहेको सम्पादक शम्भु कुमार सुमनले बताए । उनले सदरमुकाममा मात्र सीमित नरही जिल्लाका ग्रामीण भेगमा दबाइएका आवाज, ओझेलमा परेका मुद्दा तथा आम नागरिकका पीडालाई निरन्तर उजागर गर्दै आएको उल्लेख गरे । पर्सासहित आसपासका जिल्लामा रहेका साना–ठूला विषयलाई समान महत्व दिँदै जनसरोकारका मुद्दा उठान गर्नु कालिका टाईम्सको मूल धर्म रहेको उनले स्पष्ट पारे ।
संघीयता कार्यान्वयनसँगै तीन तहको सरकार बने पनि तराई–मधेश क्षेत्रका धेरै नागरिक अझै शोषण, गरिबी, बेरोजगारी र पछौटेपनको सिकार भइरहेको यथार्थलाई कालिका टाईम्सले निरन्तर उजागर गर्दै आएको सम्पादक सुमनको भनाइ थियो । उनले गणतन्त्र स्थापना भएपछिसमेत गरिब, विपन्न तथा दलित समुदायको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको अवस्थालाई समाचारमार्फत उठान गर्दै आएको दाबी पनि गरे ।
कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सम्पादक शम्भु कुमार सुमनसहित पत्रकार मनोज पटेल, सन्तोष साह, विनोद पटेल, हरिशंकर शर्मा, ताजिन्द्र साह, दिपेन्द्र यादव, जयप्रकाश कुशवाहा, राधेश्याम पटेल, श्रवण साह, अमोद शर्मा लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया दिनुहोस् !