काठमाडौँ, १८ असोज । खानेपानी मन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रियाहरू पूरा गर्न निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) मा फोहोर पानी आधारित निगरानी प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री यादवले सो निर्देशन दिएका हुन् ।
उद्घाटन शत्रमा मन्त्री यादवले भने ‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुर जिल्लामा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस् ।’ जिटुजी कार्यक्रम अन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाहरूको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिएका हुन् । उनले नेपालमा पहिलो पटक फोहोर पानी आधारित निगरानी प्रणालीको लागि तयार गरिएको प्रयोगशालामा खुसी व्यक्त गर्दै भने ‘यो प्रणाली प्रारम्भिक चेतावनी प्रणालीको रूपमा कार्य गर्नेछ, जसको ठूलो महत्व छ । हाल यो प्रणालीले केही रोगहरूको मात्र अध्ययन गर्नेछ, तर यसको थप विकास आवश्यक छ ।’
उक्त प्रयोगशाला आजदेखि सञ्चालनमा आएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवं कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए । यसैबिच, मन्त्री यादवले काठमाडौँको किर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पुर्याएका महत्वपूणर् उपकरणहरूको मर्मतको प्रगति अवलोकन गरेका छन् । निरीक्षणका क्रममा उनले बाढीले क्षति पुर्याएका उपकरणहरूको मर्मत कार्य अघि बढाउन निर्देशन पनि दिए । सोही क्रममा मन्त्री यादवले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को गोदामको पनि अवलोकन गरेका थिए ।








प्रतिक्रिया दिनुहोस् !