जनकपुर, १८ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा “श्रमाधान रोजगार मेला” डिजाइन गरेको छ । नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले मेला सातै प्रदेशमा “श्रमाधान रोजगार मेला” आयोजना गरिएको हो ।
मधेस प्रदेशमा यहि जेठ १९ र २० गते हुने मेलाको बारेमा जानकारी दिने उदेश्यले बिहीबार जनकपुरधाम उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलन आयोजना गरिएको हो । मधेस प्रदेशमा मेलाको आयोजना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा गर्दैछन् । सहआयोजक नेपाल उद्योग परिसंघ रहेको छ ।
जनकपुरधाममा दुई दिन चल्ने मेलाको उद्घाटन श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गर्नुहुनेछ । पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एंव मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताउनु भयो । त्यस्तै, मेलाले रोजगार खोज्नेहरू, रोजगारदाताहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकुल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतार्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ , ” उहाँले भन्नु भयो । मधेस प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू संकलन गरिने पनि उहाँले उल्लेख गर्नु भयो। सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत उहाँले आग्रह गर्नुभयो ।
श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताउनु भयो । यो मेलामा सहभागिताका लागि ३५ स्टल राख्ने बताउनु भयो । ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको पनि उहाँले जानकारी गराउनु भयो । मेला भव्य र सफल बनाउन लागि सबै सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । नेपाल उद्योग परिसंघ सिआइएनका मधेस प्रदेश संयोजक प्रमोद शाहले मेलाको उदेश्य देशमै रोजगारी उपलब्ध गराउने रहेको बताउनु भयो ।
“हाम्रा युवाहरू अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लागेर बस्नु परेको अवस्था छ। त्यो भिडभाडलाई कसरी कम गर्ने। आज नेपालको उद्योग, कलकारखाना, कृषि क्षेत्र पनि अवसर बढ्दै गएको छ। हामी अब नेपालमै रोजगारीको अवसर खोज्न सक्छौं । हामी उद्योगीहरूले पनि राम्रो तलब दिन सक्छौं । तर समस्या भनेको आवश्यक ज्ञान सीप को अभाव छ, ” उहाँले भन्नु भयो । श्रमबजारको आवश्यकता अनुसार दक्ष जनशक्ति नभएको औंल्याउँदै यो मेलाले आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।
मेला आज -जेठ १७ _ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै सुरू भइसकेको छ। यो मेला ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । मेला हरेक प्रदेशमा २ दिन चल्नेछ । यो मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरू बीच मध्यस्थताको काम गर्नेछ ।
मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरुको पनि सहभागीता रहनेछ । साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको बिषयमा छलफल गरिनेछ ।
मेलामा सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ लगायत सरोकारवालाको स्टल राखिनेछ ।
मेला कोशी प्रदेशको विराटनगरमा देखि सुरू भएर र १८ गते सम्म चल्नेछ । मधेश प्रदेशको जनकपुमा १९ र २० गते सञ्चालन हुनेछ । गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ । 







प्रतिक्रिया दिनुहोस् !