जितपुरसिमरा (बारा), ९ मंसिर । जग्गासम्बन्धी सामान्य प्रशासनिक कामका लागि मालपोत र नापी कार्यालय धाउनुपर्ने नागरिकको बाध्यता अन्त्य गर्ने उद्देश्यसहित बाराको जितपुरसिमरा उपमहानगरपालिकाले भूमि प्रशासनसम्बन्धी सेवा आफ्नै कार्यालयबाट सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणसँगै जग्गाको स्वामित्व हस्तान्तरण, नापी तथा कित्तासम्बन्धी सेवा स्थानीय स्तरबाटै उपलब्ध गराउन थालेको हो ।
यस सेवाको औपचारिक सुरुवात गर्दै नगर प्रमुख राजन पौडेलले बुधबार वडा नम्बर २ का स्थानीय चन्द्र ध्वज कार्की र उमा कुमारी श्रेष्ठलाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरे । पालिकाबाटै लालपूर्जा वितरण सुरु भएपछि जग्गासम्बन्धी प्रशासनिक सेवाका लागि विभिन्न सरकारी कार्यालय चहार्नुपर्ने अवस्थालाई कम गर्ने अपेक्षा गरिएको छ ।
उपमहानगरपालिकाले यसअघि नै भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै सिमरास्थित मालपोत कार्यालयको पुरानो भवनमा रहेको भूमि व्यवस्थापन शाखाबाट सेवा प्रवाह सुरु गरिएको हो । उपमहानगरपालिकाले २०८३ कात्तिक १८ गते सार्वजनिक सूचना जारी गरी सेवाको सुरुवात र उपलब्ध हुने सेवाको विवरणसमेत सार्वजनिक गरिसकेको छ ।
स्वामित्व हस्तान्तरणदेखि नक्सा सच्याउनेसम्मका सेवा
उपमहानगरपालिकाले पहिलो चरणमा जग्गाको स्वामित्व हस्तान्तरणसम्बन्धी लिखत पारित भएका वा अदालतबाट निर्णय भइसकेका जग्गाको प्रशासनिक प्रक्रिया अघि बढाउने जनाएको छ । यसका लागि जग्गाधनी प्रमाणपूर्जा, जग्गाधनीको डिजिटल फोटो, औँठाछाप, दस्तखतलगायत आवश्यक विवरण र कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी नापीसम्बन्धी सेवाअन्तर्गत फिल्ड रेखाङ्कन, स्थलगत निरीक्षण, नक्सा प्रिन्ट तथा प्राविधिक त्रुटिका कारण नक्सामा देखिएका समस्या सच्याउने सुविधा पनि उपलब्ध हुनेछ । नक्सा सच्याउने प्रक्रिया भने सर्जमिनका आधारमा मात्रै अघि बढाइने उपमहानगरपालिकाले स्पष्ट पारेको छ ।
भूमि उपयोगसम्बन्धी नियमावली, २०७९ को व्यवस्थाअनुसार कित्ताकाटमा समेत निश्चित मापदण्ड लागू हुने जनाइएको छ । नियमावलीको परिच्छेद ४ को दफा १२ अनुसार कृषि क्षेत्रमा कम्तीमा ६७५ वर्गमिटर (२ कठ्ठा) तथा आवासीय र व्यावसायिक क्षेत्रमा कम्तीमा १३० वर्गमिटर (७.६५ धुर) क्षेत्रफल कायम हुने गरी कित्ताकाट गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मधेशमै पहिलो स्थानीय तह बनेको उपमहानगरपालिकाको दाबी
जितपुरसिमरा उपमहानगरपालिकाका अनुसार स्थानीय तहबाटै लालपूर्जा वितरण र भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने अभ्यास मधेश प्रदेशमै पहिलो हो । यसअघि जग्गाको स्वामित्व हस्तान्तरण, नापी, कित्ताकाट र नक्सासम्बन्धी कामका लागि सेवाग्राहीले सम्बन्धित सरकारी कार्यालय धाउनुपर्ने अवस्था थियो ।
अब उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सेवा स्थानीय स्तरबाटै उपलब्ध गराउने भएपछि नागरिकको समय, खर्च र प्रशासनिक झन्झट घट्ने अपेक्षा गरिएको छ । भूमि प्रशासनलाई नागरिकको घरदैलो नजिक पुर्याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको नगर प्रमुख पौडेलले बताए ।
उनका अनुसार पालिकाबाटै लालपूर्जा वितरण सुरु हुनु सेवा प्रवाहको स्थान परिवर्तनमा मात्रै सीमित नभई स्थानीय स्तरमै भूमि प्रशासनसम्बन्धी सुविधा विस्तार गर्ने प्रयास हो । यद्यपि पहिलो चरणमा तोकिएका सेवाहरू मात्रै सञ्चालनमा रहेकाले मालपोत तथा नापीसम्बन्धी सबै प्रकारका सेवा तत्कालै पालिकाबाट उपलब्ध हुने अवस्था नरहेको र सेवाको दायरा क्रमशः विस्तार गरिने उनको भनाइ छ ।



























प्रतिक्रिया दिनुहोस् !