वीरगंज (पर्सा), ९ मंसिर । सरकारको मिडियाप्रतिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि पर्साका पत्रकारहरू विरोधमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघले अघि सारेका माग सम्बोधन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय पर्साको परिसरमा धर्नासहित प्रदर्शन गरेका हुन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा भएको प्रदर्शन केन्द्रीय समितिले घोषणा गरेको देशव्यापी आन्दोलनको कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो । प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै सरकारको मिडियाप्रतिको व्यवहारविरुद्ध एकजुट भएर आवाज उठाएका थिए ।
पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चारकर्मीको पेसागत सुरक्षा र पत्रकारितासम्बन्धी अधिकारको सुनिश्चिततालाई आन्दोलनको मुख्य मुद्दा बनाएका छन् । महासंघले उठाएका मागप्रति सरकार गम्भीर नदेखिएको भन्दै उनीहरूले माग सम्बोधनका लागि दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले केन्द्रीय समितिले अघि सारेका माग पूरा गर्नुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । सरकारको मिडियाप्रतिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै त्यसमा सुधार र माग सम्बोधनका लागि दबाब दिन प्रदर्शन गरिएको उनको भनाइ छ ।
त्यस्तै, महासंघ पर्साका सदस्य राहुल गुप्ताले सञ्चारमाध्यम र पत्रकारप्रति सरकारको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सञ्चारकर्मीको पेसागत अधिकारका लागि महासंघले निरन्तर संघर्ष गर्दै आएको बताए । सरकारको व्यवहारविरुद्ध सुरु भएको आन्दोलनलाई प्रभावकारी बनाउन जिल्लाका पत्रकारहरू एकजुट भएर सडकमा उत्रिएको उनले उल्लेख गरे ।
महासंघले अघि सारेका माग सम्बोधन नभएसम्म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आन्दोलन जारी राख्ने पत्रकारहरूले बताएका छन् । उनीहरूले सञ्चार क्षेत्रको स्वतन्त्रता र पत्रकारहरूको अधिकार सुनिश्चित गर्ने दायित्वबाट सरकार पछि हट्न नहुनेमा जोड दिएका छन् ।



























प्रतिक्रिया दिनुहोस् !