Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अयोध्याबाट आउने रेलको स्वागतमा जनकपुरधाममा चहलपहल, मिथिलाको कला-संस्कृति प्रस्तुत गरिने

१७ वटा डिब्बा रहेको रेलमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । अयोध्या स्टेसनबाट प्रस्थान गरेको रेल मङ्गलबार बिहान जनकपुरधाम आइपुग्ने कार्यक्रम छ । रेललाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय रेल्वेका उच्च अधिकारीहरूले अयोध्याबाट बिदाइ गरेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८३
अयोध्याबाट आउने रेलको स्वागतमा जनकपुरधाममा चहलपहल, मिथिलाको कला-संस्कृति प्रस्तुत गरिने

जनकपुरधाम (धनुषा), ७ मंसिर । भारतको अयोध्याबाट पहिलोपटक सिधा रेल चढेर जनकपुरधाम आउन लागेका श्रद्धालु तथा पर्यटकको स्वागतका लागि जनकपुरधाममा विशेष तयारी गरिएको छ । रामको जन्मभूमि अयोध्याबाट सीताको जन्मभूमि जनकपुरधामसम्म आइपुग्ने यात्रुलाई मिथिलाको मौलिक कला, संस्कृति र परम्परा झल्किने झाँकी तथा सांस्कृतिक प्रस्तुतिमार्फत स्वागत गर्ने तयारी गरिएको हो ।

नेपाल र भारतका दुई धार्मिक तथा ऐतिहासिक सहरलाई जोड्ने ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेपछि अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गरेको हो ।

१७ वटा डिब्बा रहेको रेलमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । अयोध्या स्टेसनबाट प्रस्थान गरेको रेल मङ्गलबार बिहान जनकपुरधाम आइपुग्ने कार्यक्रम छ । रेललाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय रेल्वेका उच्च अधिकारीहरूले अयोध्याबाट बिदाइ गरेका थिए ।

रेलको आगमनलाई लक्षित गरी जनकपुरधाम रेल्वे स्टेसन परिसरमा स्वागतका लागि विशेष मञ्च तथा पण्डाल निर्माण गरिएको छ । मिथिलाको पहिचान झल्किने गीत, सङ्गीत, नृत्य र सांस्कृतिक झाँकीमार्फत भारतीय पाहुनालाई स्वागत गर्ने तयारी गरिएको छ । स्वागत कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको समेत उपस्थिति रहने बताइएको छ ।

रेल्वे स्टेसनको सौन्दर्य र सरसफाइमा पनि विशेष ध्यान दिइएको छ । पछिल्लो एक सातादेखि २० देखि २५ जनाको टोली सरसफाइमा खटिएको छ । स्टेसन तथा रेलमार्ग आसपासमा रहेका प्लास्टिक र अन्य फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।

नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार अयोध्याबाट आउने रेल र यात्रुको स्वागतका लागि स्टेसन परिसरमा आवश्यक तयारी गरिएको छ । निर्माण गरिएको मञ्चबाट मिथिलाको कला, संस्कृति र परम्परा झल्किने कार्यक्रम प्रस्तुत गरिनेछ । उनले अयोध्याबाट आउने यात्रुलाई जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानसँग परिचित गराउने तयारीसमेत भइरहेको जानकारी दिए ।

तीर्थयात्रा सहज बनाउने अपेक्षा
जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित भएपछि दुवै सहरका श्रद्धालुलाई एकअर्काको धार्मिक स्थलसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । अयोध्यामा भगवान् श्रीरामको दर्शन गरेका श्रद्धालुले जनकपुरधाम आएर जानकी मन्दिरमा पूजा गर्न सक्नेछन् भने जनकपुरधाम आउने भक्तजनका लागि अयोध्या पुगेर रामललाको दर्शन गर्ने बाटो पनि सहज हुनेछ ।

हिन्दू धार्मिक मान्यताअनुसार अयोध्या भगवान् श्रीरामको जन्मभूमि र जनकपुरधाम माता सीताको जन्मभूमि हो । राजा जनककी छोरी सीता र अयोध्याका राजकुमार रामबीच भएको विवाहले यी दुई सहरलाई धार्मिक तथा सांस्कृतिक रूपमा जोड्दै आएको छ । प्रत्यक्ष यातायातको अभावमा लामो समयदेखि दुवै धार्मिक स्थलको दर्शन गर्न चाहने श्रद्धालुले यात्रा व्यवस्थापनमा कठिनाइ भोग्दै आएका थिए । नयाँ रेल सेवाले उक्त कठिनाइ कम गर्ने अपेक्षा गरिएको छ ।

जनकपुरधाम वडा नम्बर १ का स्थानीय चन्दनकुमार साहका लागि यो सेवा अयोध्या पुग्ने पुरानो चाहना पूरा गर्ने अवसर बनेको छ । उनी लामो दूरी र यात्राको झन्झटका कारण अहिलेसम्म अयोध्या पुग्न नसकेको बताउँछन् । ‘सीता माताको दर्शन त जनकपुरमै हुँदै आएको छ । तर, भगवान् रामको जन्मस्थल अयोध्या पुगेर दर्शन गर्ने इच्छा लामो समयदेखि थियो । अब रेल सेवा सुरु भएपछि त्यहाँ पुग्न सहज हुने भएको छ,’ साहले भने । उनीजस्तै जनकपुरधामका अन्य श्रद्धालुले पनि रेल सेवाबाट अयोध्या आवतजावत सहज हुने अपेक्षा गरेका छन् ।

विवाहपञ्चमीमा बढ्न सक्छ श्रद्धालुको आवागमन
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सुरु भएको समयमा नै प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव नजिकिँदै छ । प्रत्येक वर्ष मङ्सिरमा आयोजना हुने विवाहपञ्चमीमा अयोध्याबाट साधुसन्त, महन्थ तथा श्रद्धालुहरू जन्तीका रूपमा जनकपुरधाम आउने परम्परा छ ।

यस वर्ष प्रत्यक्ष रेल सेवा उपलब्ध भएपछि विवाहपञ्चमीमा अयोध्याबाट आउने श्रद्धालुको यात्रा थप सहज हुन सक्ने अपेक्षा गरिएको छ । रेल सेवाले जन्तीको आवागमन व्यवस्थापनमा समेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ । जनकपुरधाम–४ का स्थानीय राजकुमार चौधरी विवाहपञ्चमीलाई धार्मिक अनुष्ठानसँगै नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध प्रस्तुत गर्ने अवसरका रूपमा लिन्छन् ।

उनका अनुसार महोत्सवमा आउने पर्यटकलाई जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, धनुषसागर र गङ्गासागरसहितका धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गराउने व्यवस्थित योजना आवश्यक छ ।

पर्यटन व्यवसायमा नयाँ सम्भावना
रेल सेवा सुरु भएपछि जनकपुरधाममा भारतीय पर्यटकको आगमन बढ्ने सम्भावना देखिएको छ। पर्यटकको सङ्ख्या बढेमा होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय व्यापार तथा हस्तकलासँग सम्बन्धित व्यवसायमा गतिविधि बढ्न सक्छ ।

विशेषगरी मिथिलाको चित्रकला, स्थानीय खानपान, हस्तकला र सांस्कृतिक परम्परालाई पर्यटकसमक्ष प्रस्तुत गर्ने अवसर सिर्जना हुने पर्यटन व्यवसायीहरूको अपेक्षा छ। तर, पर्यटकको आवागमन बढ्दैमा पर्यटन क्षेत्र स्वतः व्यवस्थित हुने अवस्था छैन। पर्यटकलाई लक्षित गरी स्तरीय आवास, यातायात, सरसफाइ, सूचना केन्द्र, गाइड सेवा र धार्मिक स्थलसम्म पुग्ने सहज व्यवस्था आवश्यक देखिन्छ ।

सातामा एकपटक दुवैतर्फ रेल सञ्चालन
भारतीय रेल्वेले सार्वजनिक गरेको समयतालिकाअनुसार करिब ६०४ किलोमिटर दूरीको जनकपुरधाम–अयोध्या रेल सेवा सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ।

निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्या पुग्नेछ। त्यसैगरी, प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्या क्यान्टबाट छुट्ने रेल मङ्गलबार बिहान जनकपुरधाम आइपुग्नेछ ।

रेलले जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायतका स्टेसनमा रोकिनेछ। रेल सेवाको सुरक्षाका लागि भारतीय क्षेत्रमा भारतीय सुरक्षाकर्मी र नेपाली क्षेत्रमा नेपाली सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था गरिएको छ ।

नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार आगामी सातादेखि जनकपुरधामबाट अयोध्याका लागि नियमित सेवा सञ्चालन गर्ने तयारी छ । अयोध्या जान चाहने यात्रुले भारतीय अनलाइन टिकट प्रणाली तथा जनकपुरधामस्थित नेपाल रेल्वेको काउन्टरबाट टिकट लिन सक्ने व्यवस्था मिलाइएको उनले बताए ।

रामायण सर्किट पर्यटनलाई जोड्ने पहल
अयोध्या र जनकपुरधामबीच रेल सेवा सुरु भएपछि रामायणसँग सम्बन्धित धार्मिक स्थललाई एउटै पर्यटन सञ्जालमा जोड्ने सम्भावना बढेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उद्घाटन समारोहमा रेल सेवाले अवध र मिथिलाबीचको परम्परागत ‘रोटी–बेटी’ सम्बन्धलाई थप मजबुत बनाउने बताएका थिए ।

उनका अनुसार यसले नेपालका श्रद्धालुलाई अयोध्या पुगेर रामललाको दर्शन गर्न र भारतीय श्रद्धालुलाई जनकपुरधाम आएर माता जानकीको पूजा गर्न सहज बनाउनेछ । आधुनिक रेल सञ्जालले दुई देशबीचको पुरानो सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई नयाँ रूपमा जोड्ने उनको भनाइ थियो।

भारत सरकारको सहयोगमा जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको भङ्गाहासम्म ब्रोडगेज रेल सेवा सञ्चालनमा छ । नेपाल रेल्वेले दुईवटा रेलमार्फत उक्त खण्डमा नियमित यात्रुवाहक सेवा दिँदै आएको छ । रेल सेवा बर्दिबाससम्म विस्तार गर्ने योजना पनि अघि बढाइएको छ । यसअघि कात्तिकको दोस्रो साता अयोध्याबाट आएको रेललाई यही रेलमार्ग हुँदै जनकपुरधामसम्म ल्याएर परीक्षण गरिएको थियो ।

अयोध्या–जनकपुरधाम रेल सेवा सुरु हुनु दुवै सहरबीचको आवागमनमा नयाँ सुविधा थपिनु मात्र होइन, धार्मिक पर्यटनको दायरा विस्तार गर्ने अवसर पनि हो । अब जनकपुरधामले बाहिरबाट आउने पर्यटकको स्वागतसँगै उनीहरूको बसाइ, भ्रमण र स्थानीय आर्थिक गतिविधिलाई जोड्ने योजना बनाउनुपर्ने देखिन्छ। धार्मिक स्थलको संरक्षण, पूर्वाधार विकास, सरसफाइ र पर्यटकमैत्री सेवामा सुधार गर्न सके नयाँ रेल सेवाबाट प्राप्त अवसरलाई दीर्घकालीन पर्यटन विकासमा रूपान्तरण गर्न सकिनेछ ।

Tags: योध्याबाट जनकपुरधाम आउन लागेका पर्यटकको लागि विशेष तयारी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अयोध्याबाट आउने रेलको स्वागतमा जनकपुरधाममा चहलपहल, मिथिलाको कला-संस्कृति प्रस्तुत गरिने

अयोध्याबाट आउने रेलको स्वागतमा जनकपुरधाममा चहलपहल, मिथिलाको कला-संस्कृति प्रस्तुत गरिने

मंसिर ७, २०८३
छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

मंसिर ६, २०८३
प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

मंसिर ६, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

प्रहरीबीचको अडियो संवाद प्रकरणः संलग्न प्रहरीमाथि छानविन प्रक्रिया सुरु

मंसिर ६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि