कलैया (बारा), ४ मंसिर । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरेको अभियोगमा बाराका एक प्राथमिक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बाराको सुवर्ण गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादवविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र पेस गरेको हो ।
यादवको शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो । अनुसन्धानका क्रममा उनले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह (आईए) को झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सरकारी अभिलेखमा राखेको पुष्टि भएको आयोगले जनाएको छ ।
सोही नक्कली प्रमाणपत्र प्रयोग गरी प्राथमिक तहको शिक्षक नियुक्त भई उनले राष्ट्रसेवकको हैसियतमा पद, ओहदा र सरकारी सेवासुविधा उपभोग गरेको अख्तियारको ठहर छ । आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर स्थापित भएको दाबी गर्दै सोही कानुनी व्यवस्थाअनुसार कैद र जरिवाना सजायको माग गरेको छ ।




























प्रतिक्रिया दिनुहोस् !