कलैया (बारा), १४ कात्तिक । बाराका पत्रकार वीरेन्द्रकुमार साहको अपहरणपछि हत्या भएको करिब १९ वर्षपछि घटनाका मुख्य अभियुक्तमध्ये एक लालबहादुर चौधरी धामी अदालतमा उपस्थित भएका छन् । लामो समयदेखि फरार रहँदै आएका चौधरी बिहीबार बारा जिल्ला अदालतमा हाजिर भएपछि अदालतले उनलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार पठाउने आदेश दिएको छ ।
२०६४ सालमा भएको पत्रकार साहको अपहरण तथा हत्यामा संलग्न रहेको अभियोग लागेका चौधरी लामो समयसम्म पक्राउ पर्न सकेका थिएनन् । घटनाका अन्य अभियुक्त पक्राउ परिसकेका र केहीले अदालतबाट तोकिएको सजायसमेत भुक्तान गरिसकेको अवस्थामा मुख्य अभियुक्तमध्ये एक मानिएका चौधरी अदालतमा उपस्थित हुनुलाई झन्डै दुई दशक पुरानो हत्याकाण्डको महत्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ ।
एभिन्युज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आबद्ध भएर पत्रकारिता गरिरहेका साहलाई २०६४ असोज १८ गते बाराको साविक उम्जन गाविसअन्तर्गत पिपरा बजारबाट अपहरण गरिएको थियो । उनीसँगै रहेका रामदेव दासलाई पनि अपहरण गरिएकोमा पछि मुक्त गरिएको थियो ।
दासले प्रहरीसमक्ष दिएको बयानपछि घटनाको अनुसन्धान अघि बढेको थियो । अपहरण भएको करिब ३५ दिनपछि २०६४ कात्तिक २२ गते बाराको साविक डुमरवाना गाविस–७ स्थित टाँगियाबस्ती नजिकैको जंगलमा खाल्डोमा गाडिएको अवस्थामा साहको शव फेला परेको थियो । अनुसन्धानबाट उनलाई गोली हानी हत्या गरिएको खुलेको थियो ।
पाँच जनामाथि हत्या अभियोग
प्रहरी अनुसन्धानका क्रममा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरू लालबहादुर चौधरी, कुन्दन भनिने नरेन्द्र फौजदार, हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी, मनेजर गिरी र रामएकवाल सहनीको नाम घटनामा जोडिएको थियो । उनीहरूविरुद्ध पत्रकार साहको अपहरण तथा हत्या अभियोगमा अनुसन्धान र न्यायिक प्रक्रिया अघि बढाइएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा मनेजर गिरी २०६५ असोज १९ गते र रामएकवाल सहनी सोही वर्ष पुस २१ गते पक्राउ परेका थिए । जिल्ला अदालतले २०६८ जेठ १६ गते दुवैलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। पछि बाँकी कैद मिनाहा भएपछि उनीहरू कारागारबाट मुक्त भएका थिए ।
लामो समय फरार रहेका कुन्दन भनिने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते बारागढी गाउँपालिका–६ गडहलस्थित आफ्नै घरबाट पक्राउ परेका थिए । त्यसैगरी हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी २०७७ भदौ २५ गते कोल्हबी नगरपालिका–४ सपहीबाट पक्राउ परेका थिए । बारा जिल्ला अदालतले २०७८ पुस २६ गते गरेको फैसलामा फौजदारलाई पाँच वर्ष र कुर्मीलाई दुई वर्ष कैद सजाय तोकेको थियो। उनीहरू दुवैले सजाय भुक्तान गरेपछि कारागारमुक्त भइसकेका छन् ।
१९ वर्षसम्म फरार, पत्रकार महासंघले उठाउँदै आएको थियो पक्राउको माग
पत्रकार साहको हत्या प्रकरणमा अन्य अभियुक्तहरू पक्राउ परे पनि लालबहादुर चौधरी धामी भने लामो समयसम्म फरार रहँदै आएका थिए । उनी घटनाका मुख्य योजनाकारमध्ये एक रहेको अभियोग लागेको थियो । २०७९ वैशाखमा सार्वजनिक भएको विवरणमा समेत उनी फरार रहेको उल्लेख थियो ।
चौधरीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघलगायत पत्रकारिता क्षेत्रबाट निरन्तर माग हुँदै आएको थियो। साहको हत्यापछि नेपाल पत्रकार महासंघले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो । महासंघको टोलीले २०६४ असोज २३ गते सार्वजनिक गरेको निष्कर्षमा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताको संलग्नता औँल्याइएको थियो । घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार र मानवअधिकारसम्बन्धी संस्थाहरूले समेत आवाज उठाउँदै आएका थिए ।
करिब १९ वर्षसम्म फरार रहेका चौधरी अहिले आफैँ अदालतमा उपस्थित भएर पुर्पक्षका लागि कारागार चलान भएपछि पत्रकार साह हत्या प्रकरणले पुनः चर्चा पाएको छ । घटनाका अन्य अभियुक्तमाथि फैसला भइसकेको अवस्थामा चौधरीविरुद्धको न्यायिक प्रक्रिया अब कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।




























प्रतिक्रिया दिनुहोस् !