कलैया (बारा), १४ कात्तिक । बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर सुरु भएको विवादले शनिबार बिहान हिंसात्मक रूप लिएपछि एक किशोर प्रहरीको गोली लागेर घाइते भएका छन् । झडपका क्रममा अस्पताल परिसरमा तोडफोड हुनुका साथै १० वटा मोटरसाइकलमा आगजनी गरिएको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरीसमेत घाइते भएका छन् ।
प्रहरीको गोली लागेर फेटा गाउँपालिका–३ का १५ वर्षीय आदित्य पासवान घाइते भएका हुन् । उनको तिघ्रामा गोली लागेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । घाइते पासवानको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
फेटा गाउँपालिकामा निर्माण सम्पन्न भएको १५ शैय्याको अस्पताल उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका क्रममा विवाद सुरु भएको थियो । कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटा शनिबार फेटा पुगेकी थिइन् । अस्पताल उद्घाटनको विषयलाई लिएर निवर्तमान गाउँपालिका अध्यक्ष अमिरीलाल साह कानुसहितका स्थानीय एमाले नेता–कार्यकर्ताले असन्तुष्टि जनाउँदै कार्यक्रम रोक्ने चेतावनी दिएको प्रशासनको भनाइ छ ।
अस्पताल निर्माणको सुरुवात भने एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष साह कानुको कार्यकालमा भएको थियो । शिलालेखमा आफ्नो नाम नराखिएको भन्दै उनले उद्घाटन कार्यक्रम रोक्न खोजेको प्रशासनले जनाएको छ । बास्कोटा यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिइन् । सोही पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्षसहितको समूह रास्वपामा समाहित भएपछि फेटा रास्वपाको जनप्रतिनिधि रहेको एकमात्र गाउँपालिका बनेको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार स्थानीय एमाले नेताहरूले सांसद बास्कोटाबाट अस्पताल उद्घाटन गराउने तयारीप्रति असन्तुष्टि जनाउँदै कार्यक्रम बिथोल्ने चेतावनी दुई दिनअघि नै जिल्ला प्रशासन कार्यालयमा दिएका थिए । विरोधको नेतृत्व निवर्तमान अध्यक्ष साह कानुसहित स्थानीय एमाले नेता तथा शिक्षक लालबाबु साहले गरेको प्रशासनको भनाइ छ ।
शिक्षक साह जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता र कार्यक्रम अवरुद्ध गर्ने चेतावनीबारे जिल्ला प्रशासनले दुई दिनअघि नै शिक्षा विकास तथा समन्वय इकाइ बारालाई जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए ।
मधेश प्रदेश प्रहरी प्रवक्ता ढकालका अनुसार निवर्तमान अध्यक्षको नेतृत्वमा करिब २५० जनाको समूह कार्यक्रमस्थलमा पुगेपछि आक्रमण भएको र त्यसपछि झडप सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । तर, प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि पाँच प्रहरी घाइते भएका थिए ।
झडपका क्रममा अस्पताल परिसरमा उद्घाटनका लागि तयार पारिएको टेन्ट र शिलालेख तोडफोड गरिएको छ । आक्रोशित प्रदर्शनकारीले परिसरमा पार्किङ गरिएका १० वटा मोटरसाइकलमा आगजनी गरेका थिए । अस्पताल परिसरभित्र रहेका १० जना स्वास्थ्यकर्मी र केही सुरक्षाकर्मीलाई प्रहरीले सुरक्षित रूपमा उद्दार गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।
घटनापछि फेटाको अवस्था तनावपूर्ण बनेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार हालसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन ।




























प्रतिक्रिया दिनुहोस् !