कलैया (बारा), ११ कात्तिक । बाराको कलैयास्थित प्रादेशिक अस्पताल कलैया बिरामीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्थाभन्दा राजनीतिक पहुँचका आधारमा कर्मचारी भर्ती गर्ने केन्द्र बनेको प्रतिनिधिसभा सदस्य अरविन्द साहले आरोप लगाएका छन् । अस्पतालमा कर्मचारी नियुक्तिदेखि सेवा प्रवाहसम्म अनियमितता रहेको दाबी गर्दै उनले छानबिनका लागि कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।
बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद साहले बुधबार आफ्नो सचिवालयको फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै अस्पतालको दयनीय सेवा अवस्था, जनशक्ति व्यवस्थापनमा देखिएका समस्या र राजनीतिक प्रभावबारे प्रश्न उठाएका हुन् । अस्पताल सुधारका लागि लामो समयदेखि प्रयास र सम्बन्धित निकायसँग समन्वय गरे पनि अवस्था सुध्रिनुको सट्टा झन् बिग्रँदै गएको उनको भनाइ छ ।
सांसद साहका अनुसार निर्वाचित भएदेखि नै शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले उनले काम गर्दै आएका छन् । यही क्रममा प्रादेशिक अस्पताल कलैयाको सेवा सुधारलाई प्राथमिकतामा राख्दै पटक–पटक निरीक्षण गर्नुका साथै मेडिकल सुपरिटेन्डेन्ट र कर्मचारीसँग छलफल गरेका थिए । प्रदेश तथा संघीय सरकारका मन्त्री, सचिव र सम्बन्धित पदाधिकारीसँग समेत समन्वय गरे पनि अपेक्षित सुधार हुन नसकेको उनले बताए ।
ओपीडीको टिकट नपाएर बिरामी फर्किनुपर्ने अवस्था
अस्पतालको सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै सांसद साहले जिल्लाका दुर्गम तथा टाढाका क्षेत्रबाट उपचारका लागि आउने बिरामीले समयमै सेवा पाउन नसकेको विषय उठाएका छन् ।
उनका अनुसार सिम्रौनगढलगायत टाढाका गाउँबाट अस्पताल पुग्ने बिरामी दिउँसो १२ देखि १ बजेसम्म पुग्दा ओपीडीको टिकट वितरण बन्द भइसकेको अवस्था सामना गर्न बाध्य छन् । टाढाबाट उपचारको आशा बोकेर आउने बिरामीले समेत सहज रूपमा सेवा नपाउनु गम्भीर समस्या भएको उनको भनाइ छ ।
बिरामीको चाप र सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर अस्पताललाई दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् । यसो गर्दा टाढाबाट आउने बिरामीले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था कम हुने उनको अपेक्षा छ ।
चार चिकित्सकको दरबन्दीमा पनि राजनीतिक पहुँच
अस्पतालमा चिकित्सकको अभाव हटाउन प्रदेश सरकारसँग समन्वय गरी चार चिकित्सकको दरबन्दी कायम गराउन पहल गरिएको साहले बताएका छन् । तर, उक्त दरबन्दीमा आवश्यकताका आधारमा भन्दा राजनीतिक पहुँचका आधारमा नियुक्ति गरिएको उनको आरोप छ ।
अस्पतालमा १०० भन्दा बढी कर्मचारी रहेको भनिएपनि नियमित रूपमा ७० देखि ८० जनासम्म मात्रै उपस्थित हुने गरेको उनले दाबी गरेका छन् । यसले जनशक्ति व्यवस्थापन र कर्मचारीको नियमित उपस्थितिमाथि समेत प्रश्न उठाएको छ ।
त्यस्तै, २०७३ सालदेखि ज्यालादारीमा कर्मचारी राख्ने गरिएको उल्लेख गर्दै साहले यस्ता नियुक्तिको कानुनी आधार र प्रक्रियाबारे छानबिन हुनुपर्ने माग गरेका छन् । अस्पताल प्रशासनले स्रोतसाधनको अभाव र करारमा कर्मचारी नियुक्त गर्ने अधिकार नभएको बताउने गरेको भएपनि ज्यालादारीमा कर्मचारी राख्ने क्रम जारी रहेको उनको आरोप छ ।
विशेषज्ञ चिकित्सक र उपकरणको अभाव
प्रादेशिक अस्पताल कलैयामा एनेस्थेसिया चिकित्सक, स्त्रीरोग विशेषज्ञ र रेडियोलोजिस्टको अभाव रहेको सांसद साहले बताएका छन् । अस्पतालमा उपलब्ध विभिन्न उपकरणसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनको दाबी छ ।
विशेषज्ञ जनशक्ति र उपकरणको उचित व्यवस्थापन नहुँदा अस्पतालमा उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा प्रभावित भएको उनको भनाइ छ । अस्पतालमा सुधारका लागि पटक–पटक पहल गर्दा पनि समस्या समाधान हुन नसक्नुले व्यवस्थापकीय कमजोरी र जिम्मेवारी निर्वाहबारे गम्भीर प्रश्न उठाएको उनले बताए ।
‘अस्पतालमा उपचारका लागि आउने गरिब तथा विपन्न नागरिकले उचित स्वास्थ्य सेवा पाउनुपर्ने हो। तर, आफ्ना मान्छेलाई जागिर खुवाउने राजनीतिक भर्ती केन्द्र बनाइएको छ,’ सार्वजनिक भिडियोमा साहले भनेका छन् ।
कर्मचारी नियुक्तिको विवरण सार्वजनिक गर्न माग
सांसद साहले अस्पतालमा ज्यालादारीमा कार्यरत कर्मचारीको पूर्ण विवरण सार्वजनिक गर्न तथा उनीहरूको नियुक्ति कुन कानुनी आधारमा गरिएको हो भन्ने विषयमा छानबिन गर्न माग गरेका छन् । राजनीतिक नियुक्ति र प्रभावका कारण सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको उनको दाबी छ ।
अस्पताल सुधारका विषयमा जिल्ला प्रशासन कार्यालयदेखि प्रदेश सरकारसम्म पत्राचार गरिसकेको जानकारी दिँदै उनले सम्बन्धित निकायलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् । उनले नागरिकलाई समेत अस्पतालको सेवा र कर्मचारी नियुक्तिसम्बन्धी विषयमा खबरदारी गर्न आह्वान गरेका छन् । प्रादेशिक अस्पताल कलैयालाई राजनीतिक प्रभावबाट मुक्त गरी सर्वसाधारणले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने संस्थाका रूपमा विकास गर्नुपर्नेमा सांसद साहले जोड दिएका छन् ।

























प्रतिक्रिया दिनुहोस् !