वीरगंज (पर्सा), ११ कात्तिक । वीरगंजबाट नाफा कमाउँदै आएका बैंकहरूले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत छुट्याउने रकम वीरगंजकै सामाजिक विकास र जनहितका काममा खर्च गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आग्रह गरेका छन् ।
वीरगंजस्थित ‘क’ वर्गका बैंकका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूसँग बिहीबार साँझ कन्ट्री इन होटलमा भएको छलफलमा सांसद पन्तले बैंकहरूले स्थानीय क्षेत्रबाट आर्जन गरेको नाफाको केही हिस्सा यहीँका नागरिकको जीवनस्तर सुधार्ने काममा लगाउनुपर्ने बताएका हुन् । चुनावअघि र चुनावपछि घरदैलोका क्रममा आफूले वीरगंजका विभिन्न स्थानमा सानो लगानी र सामान्य प्रयासबाट समेत ठूलो सामाजिक परिवर्तन ल्याउन सकिने सम्भावना देखेको उल्लेख गर्दै पन्तले त्यस्ता कामलाई अघि बढाउन बैंकहरूको सहयोग आवश्यक रहेको बताए ।
स्थानीयस्तरमा थोरै खर्चबाट सम्पन्न गर्न सकिने तर समुदायका लागि महत्त्वपूर्ण रहेका थुप्रै सामाजिक कामहरू भएपनि सांसदहरूसँग त्यस्ता कामका लागि छुट्टै कोष र पर्याप्त स्रोत नहुँदा सबै आवश्यकता पूरा गर्न नसकिएको उनको भनाइ थियो । त्यसैले बैंकहरूले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम स्थानीय आवश्यकताका क्षेत्रमा परिचालन गर्न उनले आग्रह गरे ।
स्थानीय आवश्यकतामा सीएसआर खर्च गर्ने बैंकहरूको प्रतिबद्धता
छलफलमा सहभागी बैंकका प्रतिनिधिहरूले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम निर्धारित क्षेत्र र मापदण्डअनुसार सहकार्य गर्दै सामाजिक काममा खर्च गर्ने प्रतिबद्धता जनाएका छन् । बैंकर्स संघका अध्यक्ष रोहिनी आचार्यसहित विभिन्न बैंकका प्रदेश तथा शाखा प्रमुखहरूले सामाजिक क्षेत्रमा प्रभावकारी काम गर्न सहकार्यको सम्भावनाबारे छलफल गरेका थिए ।
नेपाल एसबीआई बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र ग्लोबल आइएमई बैंकका प्रदेश प्रमुखहरूको सहभागिता रहेको छलफलमा प्राइम बैंक, हिमालयन बैंक, नबिल बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकका वीरगंजस्थित प्रमुखहरू पनि उपस्थित थिए ।
कार्यक्रममा बैंकहरूको सामाजिक उत्तरदायित्व कोषलाई स्थानीय समुदायका आवश्यकता र विकासका प्राथमिकतासँग जोडेर परिचालन गर्नुपर्ने विषयमा जोड दिइएको थियो ।
सामाजिक उत्तरदायित्वको रकम स्थानीय विकासमा लगाउनुपर्ने बहस
नेपालको औद्योगिक व्यवसाय ऐन, २०७६ ले तोकिएका मापदण्ड पूरा गर्ने उद्योग तथा प्रतिष्ठानका लागि कर्पोरेट सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था गरेको छ । यसअन्तर्गत सम्बन्धित संस्थाले कानुनले तोकेको आधारअनुसार वार्षिक खुद मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था छ ।
सीएसआरअन्तर्गतको रकम सामाजिक, वातावरणीय तथा विकासमूलक गतिविधिमा परिचालन गरिन्छ । यस्तो रकम स्थानीय आवश्यकतासँग जोड्न सके शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण र सामुदायिक विकासजस्ता क्षेत्रमा सकारात्मक प्रभाव पार्न सकिन्छ ।
वीरगंजमा आयोजित छलफलले बैंकहरूको सामाजिक उत्तरदायित्वको रकम स्थानीय जनताको आवश्यकता सम्बोधन गर्ने काममा परिचालन गर्नुपर्ने विषयलाई पुनः प्राथमिकतामा ल्याएको छ । कृष्ण पासवानले सहजीकरण गरेको छलफलमा रास्वपाका क्षेत्रीय सभापति तेज सम्सेर जबरा, उपसभापति किशोर यादव, सचिव सुदिस प्रजापति तथा महमादिन आलम र सम्साद आलमको पनि उपस्थिति थियो ।
बैंकहरूले व्यक्त गरेको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन सके वीरगंजको सामाजिक विकासमा निजी क्षेत्रको योगदान बढ्ने र साना लगानीबाट सम्पन्न गर्न सकिने जनहितका कामले समेत गति लिने अपेक्षा गरिएको छ ।

























प्रतिक्रिया दिनुहोस् !