वीरगंज (पर्सा), २८ असोज । विजयादशमीको अवसरमा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंज महानगरपालिकाको आदर्शनगर मेनरोड र लोहारपट्टि चोकमा परम्परागत लिङ्गे पिङ निर्माण गर्न लागिएको छ । वीरगंज महानगरपालिका, नेपाली सेनाको श्री श्रीजंग गण र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वय तथा सहकार्यमा पिङ निर्माणको काम अघि बढाइएको हो ।
पिङ निर्माणले दसैँको रौनक बढाउनुका साथै मौलिक परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली समाजमा चाडपर्वका अवसरमा पिङ खेल्ने परम्परा प्राचीन कालदेखि नै रहँदै आएको छ । विशेषगरी दसैँमा पिङ खेल्ने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र आपसी खुसी साटासाट गर्ने चलनले सांस्कृतिक महत्त्व बोकेको छ । तर, आधुनिकताको प्रभावसँगै यस्ता मौलिक परम्परा विस्तारै हराउँदै जान थालेपछि तिनको संरक्षणका लागि पिङ निर्माण गर्न लागिएको हो ।
यसैगरि बडादसैँको अवसरमा परम्परागत नेपाली लोक संस्कृति र परम्पराको संरक्षण तथा सर्वसाधारणको मनोरञ्जनलाई ध्यानमा राख्दै नेपाली सेनाले बाराको निजगढ नगरपालिकामा लिङ्गे पिङ स्थापना गरेको छ । नेपाली सेनाले निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको पुरानो खुला मैदानमा लिङ्गे पिङ निर्माण गरेको हो । दसैँको सांस्कृतिक परम्पराका रूपमा रहेको पिङ खेल्ने चलन तथा परम्परालाई निरन्तरता दिने र स्थानीयवासीलाई चाडपर्वको रमाइलो अनुभूति गराउने उद्देश्यले पिङ निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।
बडादशैँको सांस्कृतिक रौनक बढाउने उद्देश्यले रौतहटको चन्द्रपुरमा नेपाली सेनाले परम्परागत पिङ निर्माण गरेको छ । चन्द्रपुर नगरपालिका–४ स्थित शान्ति टोलको एकता मैदानमा श्री नारायणदल गणले पिङ निर्माण गरेको हो। पिङ निर्माणसँगै स्थानीयवासीलाई दशैँको खुसी साटासाट गर्न र परम्परागत संस्कृतिसँग जोडिन थप अवसर मिल्ने अपेक्षा गरिएको छ । दशैँमा पिङ खेल्ने नेपाली परम्पराले आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको छ । मौलिक संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको पिङले स्थानीय क्षेत्रमा दशैँको उत्साह थप्ने विश्वास गरिएको छ ।

























प्रतिक्रिया दिनुहोस् !