वीरगंज (पर्सा), १९ असोज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाअन्तर्गतका तीन विद्यालयले विद्यालय सुधार योजना (एसआईपी) लाई सबै बालबालिकाको पहुँच, सहभागिता र आवश्यकतालाई समेट्ने गरी अद्यावधिक तथा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालय सुधार योजनालाई समावेशी र सहभागितामूलक बनाउने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधिले आगामी असोज मसान्तभित्र एसआईपीलाई समावेशी दृष्टिकोणबाट परिमार्जन गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
युरोपियन युनियनको आर्थिक सहयोगमा पिपल इन निड (पि.आई.एन.), एकाउन्टिब्लीटि ल्याब नेपाल, नेशनल क्याम्पेन फर एजुकेशन नेपाल (एन.सि.ई. नेपाल) र नेपाल डिसेबल्ड वुमन एसोसिएसन (एन.डि.डब्लु.ए.) को सहकार्य तथा दिव्य विकास स्रोत केन्द्र (डि.डि.आर.सि.) पर्साको साझेदारीमा सञ्चालित पहुँच परियोजना (एक्सेस प्रोजेक्ट) अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो । पटेर्वा सुगौली गाउँपालिकाअन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रंगपुर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दा.प. र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाका प्रतिनिधिहरूको सहभागितामा अभिमुखीकरण सञ्चालन गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पञ्जियारले विद्यालय सुधार योजना केवल औपचारिक दस्तावेजमा सीमित नभई विद्यालयका वास्तविक आवश्यकता र समस्यालाई सम्बोधन गर्ने आधार बन्नुपर्नेमा जोड दिए । उनले एसआईपी निर्माण तथा अद्यावधिक गर्दा विद्यालयमा अध्ययनरत सबै बालबालिकाको पहुँच, सहभागिता र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताए। विशेषगरी पछाडि पारिएका तथा सीमान्तकृत समुदायका बालबालिकाको अवस्थालाई योजनाले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।
विद्यालय सुधार योजना प्रभावकारी बनाउन विद्यालय र समुदायबीचको सहकार्य पनि उत्तिकै आवश्यक रहेको पञ्जियारले बताए । विद्यालयको योजना निर्माणमा शिक्षक, अभिभावक, व्यवस्थापन समिति तथा समुदायका अन्य सरोकारवालाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा उनले जोड दिए ।
योजनामै समेटिनेछ पछाडि पारिएका बालबालिकाको आवश्यकता
अभिमुखीकरण कार्यक्रममा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–अभिभावक संघका प्रतिनिधि तथा सूचना प्रविधिसम्बन्धी जिम्मेवारीमा रहेका शिक्षकहरूको सहभागिता थियो । सहभागीलाई विद्यालयको वर्तमान अवस्था, आवश्यकता र प्राथमिकताका आधारमा एसआईपी तयार गर्ने तथा त्यसलाई समावेशी र सहभागितामूलक बनाउने प्रक्रियाबारे जानकारी गराइएको थियो ।
विद्यालयमा पहुँचबाट वञ्चित, पछाडि पारिएका तथा सीमान्तकृत समुदायका बालबालिकाका आवश्यकता पहिचान गरी योजनामा समेट्ने, उनीहरूको सहभागिता सुनिश्चित गर्ने तथा उपलब्ध स्रोतलाई प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा विद्यालय सुधार योजना निर्माण गर्दा कागजी प्रक्रिया पूरा गर्नेभन्दा पनि त्यसले विद्यालयको वास्तविक परिवर्तनमा योगदान पुर्याउनुपर्नेमा जोड दिइएको थियो ।
अभिमुखीकरणपछि तीनवटै विद्यालयका प्रतिनिधिले असोज मसान्तभित्र समावेशी दृष्टिकोणबाट विद्यालय सुधार योजना अद्यावधिक गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । यसले विद्यालयको योजना निर्माणमा सबै वर्ग र समुदायका बालबालिकाको आवश्यकता समेट्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विद्यालयको योजना समुदायसँग जोड्नुपर्नेमा जोड
कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले गरेका थिए । अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश कुमार साह तथा दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यक्रम जिम्मेवार अमित कुमार राउतले समन्वय तथा सहजीकरणमा सहयोग गरेका थिए ।
आयोजकका अनुसार अभिमुखीकरणबाट सहभागी विद्यालयका सरोकारवालाले समावेशी विद्यालय सुधार योजनाको आवश्यकता, निर्माण प्रक्रिया तथा प्रभावकारी कार्यान्वयनका विषयमा थप स्पष्टता पाएका छन् । कार्यक्रमको प्रमुख उपलब्धिका रूपमा तीनवटै विद्यालयले आफ्नो एसआईपीलाई समावेशी बनाउँदै अद्यावधिक गर्ने प्रतिबद्धता जनाएको आयोजकको भनाइ छ ।
विद्यालय सुधार योजनामा सबै बालबालिकाको पहुँच र सहभागिता सुनिश्चित गर्न सके विद्यालयको शैक्षिक वातावरण थप समावेशी बन्ने अपेक्षा गरिएको छ । विशेषगरी अवसर र पहुँचबाट पछाडि रहेका समुदायका बालबालिकालाई विद्यालयको मूलधारमा ल्याउन उनीहरूको वास्तविक आवश्यकता योजनामै समेट्नु महत्वपूर्ण हुने कार्यक्रमका सहभागीहरूको निष्कर्ष थियो ।
















प्रतिक्रिया दिनुहोस् !