वीरगंज (पर्सा), २९ भदौ । वीरगंज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन् । सोमबार भएको सुनुवाइपछि न्यायाधीशत्रय बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित मुद्दामा प्रतिवादी बनाइएका ७ जनालाई नै सफाइ दिएको हो ।
विशेष अदालतको उक्त फैसलासँगै भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेको सिंहको मेयर पदसमेत फुकुवा भएको छ । मुद्दाका कारण करिब लामो समयदेखि महानगरको नेतृत्वबाट बाहिर रहेका सिंह अब पुनः पदमा फर्किने बाटो खुलेको छ ।
नागरिकता प्रकरणमा अख्तियारले दायर गरेको थियो मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सिंहले अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा प्रस्तुत गर्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको निष्कर्षसहित अख्तियारले मुद्दा अघि बढाएको थियो । मुद्दा दायर भएसँगै प्रचलित कानुनी व्यवस्थाअनुसार सिंह स्वतः निलम्बनमा परेका थिए ।
अख्तियारका अनुसार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई सिंहले आफ्नी छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाउन भूमिका खेलेका थिए । तर सिंहले भने रिता भट्टराई आफ्नी दोस्रो श्रीमती भएको दाबी गर्दै आएका थिए । यही विषयलाई लिएर अख्तियारले सिंहमाथि झूटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएपछि मेयर पदबाट निलम्बन
विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको पद निलम्बन हुने कानुनी प्रावधानका कारण सिंह गत जेठ २५ गतेदेखि मेयर पदबाट निलम्बित थिए । अख्तियारको मुद्दाका कारण सिंह महानगरको कार्यकारी नेतृत्वबाट बाहिरिएपछि उनको राजनीतिक तथा प्रशासनिक भूमिकामाथि समेत प्रश्न उठेको थियो । तर, विशेष अदालतको सोमबारको फैसलाले उनीमाथि लगाइएको अभियोगमा सफाइ दिएको छ ।
सिंहसहित ७ जना प्रतिवादी थिए
अख्तियारले सिंहसँगै वीरगंज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखरेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले सोमबार सिंहसहित मुद्दामा प्रतिवादी बनाइएका ७ जनालाई नै सफाइ दिएको हो । अदालतको फैसलासँगै सिंहमाथि लागेको उक्त भ्रष्टाचार अभियोगमा तत्कालका लागि कानुनी राहत मिलेको छ भने निलम्बनमा रहेको मेयर पद पनि पुनः बहाल हुने अवस्था बनेको छ । 







प्रतिक्रिया दिनुहोस् !