वीरगंज (पर्सा), २७ भदौ । बाढीबाट प्रभावित रसुवाका नागरिकलाई प्रत्यक्ष राहत उपलब्ध गराउने उद्देश्यले वीरगंजबाट करिब १५ लाख रुपैयाँ मूल्य बराबरको राहत सामग्रीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधिर पटेलको नेतृत्वमा टोली रसुवातर्फ प्रस्थान गरेको छ । ‘वीरगंज सहयोगी हात’को समन्वयमा आर्थिक सहयोग तथा खाद्यान्न संकलन गरी जुटाइएको राहत सामग्री शनिबार एक पिकअपमा राखेर पटेल नेतृत्वको टोली रसुवातर्फ लागेको हो । विपद्को चपेटामा परेका परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको जनाइएको छ ।
राहत संकलन गरेर सम्बन्धित ठाउँमा पठाउने मात्र नभई वास्तविक पीडितको हातसम्म आफैं पुगेर सामग्री हस्तान्तरण गर्ने उद्देश्यले आफू रसुवा जान लागेको पटेलले बताए । राहत वितरणमा वास्तविक आवश्यकता भएका परिवारलाई प्राथमिकतामा राखिने उनको भनाइ छ । ‘राहत सामग्री संकलन गरेर मात्रै हुँदैन, त्यो वास्तविक पीडितसम्म पुग्नुपर्छ,’ पटेलले भने, ‘त्यसैले हामी आफैँ राहत सामग्री लिएर रसुवा जाँदैछौँ । जहाँ बढी आवश्यकता छ, त्यहीँ प्राथमिकताका आधारमा सामग्री वितरण गर्ने हाम्रो योजना छ ।’
टोलीले रसुवा पुगेपछि बाढीपीडितका लागि सञ्चालनमा रहेको होल्डिङ सेन्टरमा राहत सामग्री वितरण गर्ने तयारी गरेको छ । त्यहाँ रहेका प्रभावित परिवारसँगै सम्भव भएसम्म बाढीबाट बढी प्रभावित स्थानीयको घरदैलोमै पुगेर सहयोग सामग्री उपलब्ध गराउने योजना रहेको पटेलले जानकारी दिए । बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकलाई तत्काल राहतको आवश्यकता रहेकाले संकलित सामग्री प्राथमिकताका आधारमा वितरण गरिने बताइएको छ । खाद्यान्नसहित आवश्यक अन्य सामग्री लिएर गएको टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारीसमेत लिने जनाइएको छ ।
वीरगंजबाट सुरु भएको यो सहयोग अभियानले विपद्को समयमा स्थानीयस्तरबाट जुटेको सहयोगलाई प्रभावित क्षेत्रमा प्रत्यक्ष पुर्याउने प्रयास गरेको छ । राहत वितरणमा बिचौलिया वा अनावश्यक ढिलाइ नहोस् भन्ने उद्देश्यले सामग्रीसहित टोली नै प्रभावित क्षेत्रमा पुगेको पटेलको भनाइ छ । राहत अभियानमा आर्थिक सहयोग तथा खाद्यान्न उपलब्ध गराउने सहयोगीहरूप्रति आभार व्यक्त गर्दै पटेलले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए ।
संकलित सहयोगलाई पारदर्शी र आवश्यकताका आधारमा वितरण गर्ने प्रयास गरिने उनको भनाइ छ । वीरगंजबाट रसुवासम्म राहत सामग्री पुर्याउने यो अभियानले भौगोलिक दूरीका बाबजुद विपद्मा परेका नागरिकलाई सहयोग गर्न स्थानीय तहमा देखिएको सक्रियतालाई समेत प्रतिनिधित्व गरेको छ । राहत थुपारेर राख्ने होइन, जहाँ पीडा छ त्यहीँ पुर्याउने उद्देश्यसहित करिब १५ लाख रुपैयाँ बराबरको सामग्री बोकेर टोली रसुवातर्फ लाग्नु अभियानको मुख्य सन्देश बनेको छ ।







प्रतिक्रिया दिनुहोस् !