परोह (रौतहट), २७ भदौ । परोहा नगरपालिका–९ रामपुर खापमा लामो समयदेखि बन्द रहेको छोटी भन्सार कार्यालय तत्काल पुनः सञ्चालन गर्नुपर्ने मागसहित स्थानीयबासीले थालेको धर्ना तथा रिले अनसन तेस्रो दिन पनि जारी राखेका छन् । मागप्रति सरकारी निकाय गम्भीर नबने आन्दोलनलाई थप कडा बनाउने चेतावनी आन्दोलनकारीले दिएका छन् ।
नेपाल–भारत सीमासँग जोडिएको रामपुर खाप नाका वर्षौंदेखि स्थानीयको आवतजावत र दैनिक उपभोग्य सामग्रीको कारोबारको महत्वपूर्ण माध्यमका रूपमा प्रयोग हुँदै आएको स्थानीयको भनाइ छ । नाका बन्द भएपछि सीमावर्ती बासिन्दालाई भारततर्फ आउजाउ गर्नेदेखि दैनिक आवश्यक सामग्रीको कारोबार र जीविकोपार्जनसम्म प्रत्यक्ष असर परेको उनीहरूको दाबी छ ।
नेपाल सिमाना संघर्ष समिति र स्थानीयबासीले छोटी भन्सार सञ्चालनका विषयमा विगतमा रौतहटका सम्बन्धित सरोकारवाला निकायसँग पटक–पटक मौखिक सहमति तथा समझदारी भए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताएका छन् । पटक–पटक आश्वासन पाए पनि ठोस निर्णय नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको समितिको भनाइ छ । बुधबार धर्नास्थलमा रौतहटका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा गौर भन्सार कार्यालयका प्रमुख अनुगमन र छलफलका लागि पुगेका थिए । तर, समस्या समाधानतर्फ ठोस पहल गर्नुको साटो आफूहरूमाथि दबाब र धम्कीपूर्ण व्यवहार गरिएको आन्दोलनकारीहरूले आरोप लगाएका छन् ।
आन्दोलनकारीका अनुसार सीमाक्षेत्रका नागरिकले भोगिरहेको समस्या र छोटी भन्सार पुनः सञ्चालनको मागबारे गम्भीर संवाद गर्नुपर्नेमा प्रशासनिक अधिकारीहरू कडा शैलीमा प्रस्तुत भएका थिए । सरकारी प्रतिनिधिबाटै मागलाई बेवास्ता गर्दै धम्क्याउने ढंगले कुरा भएको आरोप लगाएपछि आन्दोलनरत पक्ष थप आक्रोशित बनेको उनीहरूको भनाइ छ । नेपाल सिमाना संघर्ष समितिले रामपुर खापमा छोटी भन्सार कार्यालयको ऐतिहासिक पृष्ठभूमिसमेत रहेको दाबी गरेको छ । समितिका अनुसार विक्रम संवत् २००७ सालदेखि नै यस क्षेत्रमा छोटी भन्सार सञ्चालन हुँदै आएको थियो । लामो समयदेखि सञ्चालनमा रहेको नाका बन्द हुँदा यसको प्रत्यक्ष मार सीमावर्ती नागरिकले खेप्नुपरेको समितिको तर्क छ ।
स्थानीयबासीले छोटी भन्सार बन्द हुँदा राज्यले प्राप्त गर्ने राजस्वसमेत गुमिरहेको दाबी गरेका छन् । वैधानिक रूपमा कारोबार गर्ने व्यवस्था नहुँदा अवैध ओसारपसार तथा राजस्व चुहावटको जोखिम बढ्ने भन्दै उनीहरूले नाका सञ्चालन गरी व्यवस्थित रूपमा भन्सार असुलीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । आन्दोलनकारीले गौर भन्सार कार्यालयको व्यवस्थापन तथा नाका सञ्चालनसम्बन्धी नीतिका कारण रामपुर खाप छोटी भन्सार बन्द भएको आरोपसमेत लगाएका छन् । उनीहरूका अनुसार नाका बन्द हुँदा वैधानिक व्यापार प्रभावित भएको मात्र होइन, सीमाक्षेत्रमा अवैध कारोबारलाई समेत बल पुग्ने अवस्था बनेको छ ।
स्थानीयबासीले आफूहरूको माग कुनै व्यक्ति वा कार्यालयविरुद्ध नभएको स्पष्ट पार्दै सीमाक्षेत्रका नागरिकको सहज आवतजावत, वैधानिक व्यापार र राज्यको राजस्व सुनिश्चित गर्न छोटी भन्सार पुनः सञ्चालन गर्नुपर्ने बताएका छन् । तेस्रो दिनसम्म पनि सम्बन्धित निकायबाट माग सम्बोधन गर्ने ठोस निर्णय नआएको नेपाल सिमाना संघर्ष समितिले जनाएको छ । समितिले समस्या समाधानका लागि वार्ताको बाटो खुला रहेको जनाउँदै तत्काल छोटी भन्सार सञ्चालनको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।
समितिका अनुसार माग सम्बोधनका लागि यसअघि तय गरिएको समयसीमाभित्र सकारात्मक निर्णय नभए आगामी सोमबारदेखि आन्दोलनलाई थप कडा बनाउँदै अनिश्चितकालीन आमरण अनसन सुरु गरिनेछ । आन्दोलनकारीले आफूहरूको मागलाई निरन्तर बेवास्ता गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित सरकारी निकायले लिनुपर्ने चेतावनी दिएका छन् । सीमावर्ती नागरिकले पनि छोटी भन्सारको विषयलाई केवल प्रशासनिक वा सुरक्षा सवालका रूपमा सीमित नगरी स्थानीयको दैनिकी, सीमापार आवतजावत, वैधानिक व्यापार र राजस्व संकलनसँग जोडेर समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।
रामपुर खाप छोटी भन्सार पुनः सञ्चालन गर्ने विषयमा सम्बन्धित प्रशासन तथा गौर भन्सार कार्यालयको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन । आन्दोलन तेस्रो दिनसम्म लम्बिँदा अब प्रशासनले संवादमार्फत निकास निकाल्छ वा आन्दोलनकारी घोषणाअनुसार सोमबारदेखि आमरण अनसनमा जानेछन् भन्ने विषयले रामपुर खापको आन्दोलनको आगामी दिशा तय गर्ने देखिएको छ ।







प्रतिक्रिया दिनुहोस् !