जनकपुरधाम (धनुषा), २७ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुक यतिबेला राजनीतिक अस्थिरतासँगै आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको चपेटामा परेको भन्दै त्यसबाट निकास दिन अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् । जनकपुरमा आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साहले मोर्चाको उद्देश्य सरकार गिराउने वा सत्ता परिवर्तनको खेल खेल्नु नभएको स्पष्ट पारे ।
उनका अनुसार मुलुकलाई संकटबाट जोगाउँदै नयाँ राजनीतिक निकास दिने उद्देश्यले मोर्चालाई अगाडि बढाइएको हो । साहले देशको समस्या केवल सरकार र सत्ताको दृष्टिकोणबाट हेरेर समाधान हुन नसक्ने बताए । राजनीतिक संकटसँगै आर्थिक तथा सामाजिक असन्तुलन, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिले समेत मुलुकलाई गम्भीर चुनौतीतर्फ धकेलिरहेको उनको भनाइ थियो । कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको भनाइ उद्धृत गर्दै भने, ‘छोटे मन से कोई बड़ा नहीं होता, टूटे मन से कोई खड़ा नहीं होता ।’
उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संगठनभित्रको एकता, कार्यकर्ताको मनोबल र आपसी विश्वासलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । अग्रगामी मोर्चाको लक्ष्य देशलाई विभाजित होइन, जोड्ने रहेको साहले बताए । उनले विगतका उपलब्धिको संरक्षण गर्दै जनताले प्राप्त गर्न बाँकी अधिकार सुनिश्चित गर्ने, संकटबाट मुलुकलाई सुरक्षित निकाल्ने र नयाँ राजनीतिक बाटो निर्माण गर्ने मोर्चाको प्राथमिकता रहेको उल्लेख गरे । मोर्चामा सहभागी राजनीतिक नेतृत्व तथा शक्तिहरूको विगतको संघर्ष र योगदानको चर्चा गर्दै साहले उनीहरूले विभिन्न कालखण्डमा समाज तथा देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । विगतमा अपनाइएका विकासका विभिन्न मोडलबाट प्राप्त सकारात्मक अनुभवलाई समेत वर्तमान संकट समाधानमा प्रयोग गर्नुपर्ने उनको धारणा थियो ।
सरकारको गतिविधिमाथि टिप्पणी गर्दै साहले अग्रगामी मोर्चालाई सरकार ढाल्ने अभियानका रूपमा बुझ्न नहुने दोहोर्याए । ‘हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं,’ उनले भने । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरू सरकार ढाल्ने खेलमा सक्रिय रहेको आरोप लगाउँदै सत्ता केन्द्रित राजनीतिक गतिविधिले जनताले भोगिरहेका वास्तविक समस्या समाधान गर्न नसक्ने दाबी गरे । साहले आगामी दिनमा मोर्चालाई देशव्यापी रूपमा थप सुदृढ बनाउँदै कार्यकर्ता र जनताबीचको सम्बन्ध मजबुत बनाउने अभियान सञ्चालन गरिने बताए । त्यसका लागि विचार, संगठन र संघर्षको तयारीलाई एकसाथ अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
मधेश प्रदेशमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमार्फत संगठन विस्तार, कार्यकर्ताको क्षमता अभिवृद्धि र आगामी राजनीतिक संघर्षका लागि आवश्यक तयारीलाई तीव्र बनाइने साहले जानकारी दिए । मुलुकलाई वर्तमान बहुआयामिक संकटबाट बाहिर निकाल्न जनताको सहभागिता, राजनीतिक एकता र संगठित संघर्ष अपरिहार्य रहेको उनको निष्कर्ष थियो ।







प्रतिक्रिया दिनुहोस् !