वीरगंज (पर्सा), २५ भदौ । विपद्का बेला ठूलो संख्यामा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा देखिँदै आएको समस्या समाधान गर्न वीरगंजस्थित नारायणी अस्पतालमा एकैपटक कम्तीमा ५० शव राख्न सकिने क्षमताको शवगृह निर्माण गरिने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पतालसहित देशभरका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने नीतिगत निर्णय गरेको हो ।
मन्त्रालयको निर्णयसँगै नारायणी अस्पतालमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढाइनेछ । विपद्का बेला ठूलो संख्यामा शव अस्पतालमा ल्याउनुपर्ने अवस्था आए पनि सुरक्षित र व्यवस्थित रूपमा राख्न सकिने पूर्वाधारको अभाव हुँदै आएको अवस्थामा यो निर्णयलाई महत्वपूर्ण मानिएको छ । मन्त्रालयका अनुसार नारायणी अस्पतालसँगै कोशी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा पनि नयाँ शवगृह निर्माण वा विद्यमान संरचनाको क्षमता विस्तार गरिनेछ ।
त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत एकपटकमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण वा विस्तार गर्ने योजना अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
भोटेकोशी बाढीले देखाएको शव व्यवस्थापनको संकट
विपद् व्यवस्थापनका क्रममा शव राख्ने पर्याप्त संरचना नहुँदा उत्पन्न हुने समस्या पछिल्ला घटनाले झन् स्पष्ट पारेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बताएकी छन् । उनका अनुसार विगतका विभिन्न विपद्का घटनामा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। पछिल्लो भोटेकोशी बाढीका क्रममा पनि ठूलो संख्यामा मृत्यु तथा बेपत्ता भएका व्यक्तिका शव व्यवस्थापन गर्नु चुनौतीका रूपमा देखिएको थियो ।
यस्ता घटनाबाट प्राप्त सिकाइलाई आधार बनाएर भविष्यमा विपद्का बेला शव व्यवस्थापनमा समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालहरूमा पर्याप्त क्षमताका शवगृह निर्माण गर्न लागिएको मन्त्री मेहताको भनाइ छ । विपद् आउँदा उद्धार र उपचारसँगै शव व्यवस्थापन पनि राज्यको महत्वपूर्ण जिम्मेवारी हुने भएकाले अस्पतालमै पूर्वतयारी आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ ।
फरेन्सिक र मेडिको–लिगल सेवामा पनि सहयोग
शवगृह निर्माणको उद्देश्य विपद्का बेला शव राख्ने ठाउँ उपलब्ध गराउनुमा मात्र सीमित छैन । यसले फरेन्सिक मेडिसिन तथा मेडिको–लिगल सेवाको प्रभावकारिता बढाउन समेत सहयोग पुर्याउने मन्त्रालयले जनाएको छ । मन्त्री मेहताका अनुसार पछिल्लो समय फरेन्सिक मेडिसिनको महत्व बढ्दै गएको छ। आपराधिक घटना, दुर्घटना तथा विपद्का क्रममा मृत्यु भएका व्यक्तिको शव सुरक्षित राख्ने, पहिचान गर्ने, परीक्षण गर्ने र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न व्यवस्थित पूर्वाधार आवश्यक हुन्छ ।
नयाँ शवगृहले शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा कानुनी प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । मन्त्रालयका अनुसार विपद्का बेला शव व्यवस्थापनको जिम्मेवारी सम्बन्धित अस्पतालले नै प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने भएकाले अस्पतालहरूमा आवश्यक क्षमताको शवगृह विकास गर्नु अनिवार्य देखिएको हो । विगतका विपद्का क्रममा देखिएका समस्या र पछिल्लो समयका घटनाले शव व्यवस्थापनलाई आकस्मिक रूपमा गरिने काम नभई पूर्वतयारीसहित संस्थागत रूपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखाएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
विशेषगरी भोटेकोशी बाढीजस्ता विपद्ले राज्यको उद्धार प्रणालीसँगै शव व्यवस्थापनको पूर्वतयारी पनि कति कमजोर हुन सक्छ भन्ने देखाइसकेको छ । अब नारायणी अस्पतालसहित संघीय अस्पतालहरूमा ५० शव अट्ने क्षमताका शवगृह निर्माण गर्ने निर्णय कार्यान्वयनमा कति छिटो जान्छ भन्ने विषय नै महत्वपूर्ण हुनेछ ।







प्रतिक्रिया दिनुहोस् !